काठमाण्डौ । पछिल्लो समय नीतिगत व्यवस्थाहरु बाहिरी व्यक्तिको संलग्नतामा तयार गरिन थालिएको भन्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)का कर्मचारीहरु रुष्ट बनेका छन्। 

सेयर बजार नियामकका नेतृत्वले धेरैजसो नीतिगत व्यवस्था बाहिरै तयार पारी निर्णय गर्दामात्रै कर्मचारीलाई थाहा दिन थालेको भन्दै कर्मचारीहरु रुष्ट बनेका हुन्। ‘संवेदनशील नीति तथा नियमहरु कार्यालयभित्र कर्मचारीबाट तयार पारिनुपर्ने हो, त्यसपछि सञ्चालक समितिको बैठक पारित गर्नुपर्ने हो’, एक उच्च अधिकारीले भने, ‘तर, अहिले धेरैजसो नीति–नियम बाहिरी व्यक्तिको संलग्नतामा तयार पारेर पारित गर्नमात्रै सञ्चालक समितिमा ल्याइन्छ। यही कारणले कर्मचारीको मनोबल गिरेको छ।’

ती अधिकारीका अनुसार सेबोन नेतृत्वले पछिल्लो समय कर्मचारीलाई विश्वास गर्न छाडेका छन्। ‘विश्वास गरेको भए त नीति–नियम बनाउँदा वा ल्याउँदा कर्मचारीसँग छलफल हुन्थ्यो होला नि ?’, ती अधिकारीले भने। 

पछिल्लो समय सेबोन नेतृत्व र उनीनिकट केही कर्मचारीको बोलबाला बढिरहेको अर्का एक अधिकारीले बताए। ‘सेबोन नेतृत्व र सीमित केही कर्मचारीको हालिमुहाली चुलिएको छ’, ती अधिकारीले भने, ‘कर्मचारीलाई गन्नै छाडिएको छ।’ 

त्यसो त पछिल्लो समय व्यावसायिक लाइसेन्स वितरण प्रक्रिया सर्वोच्च अदालतमा मुद्दा परेपछि रोकिएको छ। ‘अब लाइसेन्स वितरणको प्रक्रिया पनि के हुन्छ वा के हुँदैछ भन्ने हामीलाई थाहा छैन’, ती अधिकारीले भने। 

सीमित कर्मचारीको हालीमुहाली बढेपछि सेबोनमा अन्य कर्मचारी कामविहीनजस्तै बनेका छन्। ‘यत्रा महाशाखा, विभाग र शाखा छन्’, ती अधिकारीले भने, ‘तर, धेरैजसो कामविहीन बनेका छन्। तलब थाप्न पनि लाज लाग्न थालिसकेको छ।’

बजारको नियमन तथा अनुगमनमा पनि सेबोन सक्रियता खासै देखिँदैन। ‘बजार पछिल्लो समय निकै चलखेल हुने गरेका छन्, इन्साइडरका घटना पनि प्रशस्त बढेका छन्’, ती अधिकारीले भने, ‘तर, बजार अनुगमन र नियमनको काम सेबोनबाट लामो समयदेखि हुन सकेको छैन।’

सेबोनको नीति–नियम पुरानो भइसकेकोले बजारलाई निष्पक्ष ढंगले सञ्चालन गर्न कठिन रहेको ती अधिकारीले बताए। ‘बजारमा करोडौँको चलखेल हुन्छ, खुलेआम इन्साडर भइरहेका छन्’, ती अधिकारीले भने, ‘तर, फितलो नीति–नियमले चलखेल गर्नेहरुलाई हौसला प्रदान गरिरहेको छ।’

बजारमा सुधार ल्याउन र चलखेलको घटनाहरु न्यूनकरण गर्न वर्षौं पुराना नीति–नियमलाई परिमार्जन गर्न आवश्यक रहे पनि यस विषयमा नेतृत्वले खासै चासो नदेखाएको ती अधिकारीले बताए। 

पछिल्लो समय सेबोनका अधिकारीहरुसँग कुनै कुराको जिज्ञासा राख्दा ‘आफूलाई थाहै नभएको’ प्रतिक्रियामात्रै दिँदै आएका छन्। यस्ता प्रतिक्रियाहरुले पनि सेबोनका कर्मचारीहरुलाई नेतृत्वले बेवास्ता गर्दै आएको प्रस्ट हुन्छ। 

कर्मचारीहरुका गुनासाका विषयमा जानकारी लिन सेबोनका अध्यक्ष रमेशकुमार हमाललाई पटक–पटक फोन गर्दा उठाएनन्।