– रेखा चन्द

काठमाण्डौ । आज देशभर प्रदेश र प्रतिनिधिसभा सदस्य चयनका लागि मतदान भइरहेको छ। 

बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न सकिने व्यवस्था निर्वाचन आयोगले गरेको छ। उच्च तहका नेतादेखि आमसर्वसाधारणसम्म तथा उद्योगी तथा व्यवसायी अनि बैंकरहरु अहिले मतदान गर्न आआफ्नो मतदानस्थल पुगिरहेका छन्। मतदान कार्य शान्तिपूर्ण रुपमा भइरहेको निर्वाचन आयोगले जनाएको छ। 

नेपाल बैंकर्स एसोसिएसन (एनबीए)का अध्यक्ष एवं कृषि विकास बैंकका सीईओ अनिलकुमार उपाध्याय मतदान गर्न रौतहट पुुगेका छन्। उनले रौतहटको गौर क्षेत्र नम्बर १ का मतदाता हुन्। उनले घर नजिकै रहेको प्राथमिक स्कुुल बुथबाट बिहान साढे ८ बजेको समयमा मतदान गरेका छन्। 

मतदान केन्द्रहरुमा मतदाताहरुको उत्साहजनक उपस्थिति रहेको उपाध्याय बताउँछन्।

सैगरी नेपाल वित्तीय संस्था संघका अध्यक्ष तथा गुुडबिल फाइनान्सका सीईओ सरोजकाजी तुलाधरले पनि मतदान गरिसकेका छन्। तुलाधरले काठमाण्डौ क्षेत्र नम्बर ८ बाट मतदान गरेका हुन्। 

तुलाधरले काठमाण्डौस्थित यटखामा रहेको अरुनोदय स्कुलमा रहेको मतदान स्थलबाट मतदान गरेको छन्। ‘मेरो बसोबास क्षेत्र नम्बर ५ मा हो तर मतदान केन्द्र क्षेत्र नम्बर ८ मा छ’, उनले भने, ‘मेलै बिहान १० बजेको समयमा भोट हालेको हुँ।’

निर्वाचित भएर आउने व्यक्तिले आमनेपालीको पीडालाई बुझ्ने र त्यो पीडालाई कम गर्न सक्ने हुनुपर्ने सीईओ तुलाधरको भनाइ छ। 

नेपाल लघुवित्त बैंकर्स एसोसिएनका अध्यक्ष तथा लक्ष्मी लघुवित्त वित्तीय संस्थाका सीईओ प्रकाशराज शर्माले ललितपुरको क्षेत्र नम्बर ३ बाट भोट हालेका छन्। ललितपुरको जनउदय माध्यामिक विद्यालय बुथ केन्द्रबाट मतदान गरेको सीईओ शर्मा बताउँछन्। 

शर्माले साढे ११ बजेको आसपासमा भोट खसालेका छन्। ‘मलगायत घरपरिवारले भोट दिएर फकिसक्यौँ’, उनले भने ‘अहिलेको सन्दर्भमा भन्दा आमजनताले केही परिवर्तन खोजेको जस्तो आभास भएको छ।’