काठमाण्डौ । नेपाल आयल निगममा केही वर्षअघि सामान्य लगानी गर्ने बैंक तथा कम्पनीहरु मालामाल बनेका छन् । 

नेपाल आयल निगमको शुक्रबार बसेको ३६ औं वार्षिक साधारणसभाले २९ करोड रुपैयाँको चुक्तापूँजीलाई बढाएर ११ अर्ब पुर्याउने निर्णय गरेको छ । 

निगममा लगानी गरेकाहरुले चुक्तापूँजीका लागि थप लगानी गर्नुपर्ने छैन, किनभने हाल कायम रहेको सञ्चित मुनाफाबाट बोनस सेयर जारी गरी एकैपटक चुक्तापूँजी ११ अर्ब पुर्याउने निर्णय भएको हो । योसँगै केही लाख लगानी गरी खरिद गरिएको सेयर मूल्य समेत बढेर करोड पुगेको छ । 

हाल कायम रहेको सञ्चित मुनाफाबाट बोनस सेयर जारी गरी चुक्तापुँजी वृद्धि गर्ने निर्णय साधारणसभाले गरेको हो । यस्तो सेयर हाल निगममा सेयर हिस्सा रहेका संस्थागत सदस्यले मात्र पाउनेछन्। 

यो निर्णयसँगै निगममा वर्षौअघि नेपाल बैंकले लगानी गरेको २ लाख ३२ हजार रुपैयाँ बढेर ८७ लाख ४ हजार पुगेको छ । 

यस्तै, १ लाख ४५ हजार लगानी गरेको राष्ट्रिय वाणिज्य बैंकको सेयरको मूल्य बढेर ५४ लाख ४० हजार पुगेको छ । 

यस्तै, नेशनल ट्रेडिङले लगानी गरेको ७ लाख ५४ हजार रुपैयाँको मूल्य बढेर २ करोड ८२ लाख ८८ हजार रुपैयाँ पुगेको छ । 

राष्ट्रिय बिमा कम्पनी लिमीटेडको ४ लाख ३५ हजारको लगानी १ करोड ६३ लाख २० हजार पुगेको छ । 

निगममा १ करोड ६६ लाख १७ हजार लगानी गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको पूँजी बढेर ६२ करोड ३४ लाख २४ हजार रुपैयाँको उचाईमा पुगेको छ । 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले लगानी गरेको ५ करोड ८९ लाख २८ हजार रुपैयाँ बढेर २ अर्ब २१ करोड ८ लाख १६ हजार पुगेको छ भने अर्थमन्त्रालयले गरेको २१ करोड २८ लाख ८९ हजार रुपैयाँको लगानी बढेर ७ अर्ब ९८ करोड ७० लाख ८ हजार रुपैयाँ पुगेको छ । 

हाल निगममा ९९ प्रतिशत सेयर नेपाल सरकारकै छ। जसमा अर्थ मन्त्रालयको ७३ दशमलब ४१ प्रतिशत, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको २० दशमलब ३२ र वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको ५ दशमलब ७३ प्रतिशत सेयर हिस्सा छ। त्यस्तै, नेसनल ट्रेडिङ लिमिटेडको ० दशमलब २६, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको ० दशमलब १५, नेपाल बैंक लिमिटेडको ० दशमलब ०८ र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ० दशमलब ०५ प्रतिशत सेयर हिस्सा छ। 

आर्थिक वर्ष (आव) २०७३/७४ सम्ममा निगमको सञ्चित मुनाफा १० अर्ब ८८ करोड रुपैयाँ छ। त्यहीबाट १० अर्ब ७१ करोड रुपैयाँ बराबरको बोनस सेयर जारी गर्ने बताइएको छ । यसअघि निगमले सर्वसाधारणका लागि समेत आइपीओ जारी गर्नसक्ने चर्चा भएको थियो । तर, पूँजी वृद्धिका लागि आइपीओको बाटो रोज्नसक्ने संभावना तत्कालका लागि टरेको छ । हकप्रदबाट समेत पूँजी वृद्धिको विकल्पलाई समेत साधारणसभाले अस्वीकार गरेको छ ।  

स्मरणरहोस्, निगमले कम्पनी रजिस्ट्रारको कार्यालयबाट अधिकृत र जारी पुँजी ३० अर्ब रुपैयाँ पुर्याउन स्वीकृति पनि पाइसकेको छ ।