काठमाण्डौ । सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशक खुल्ला प्रतिस्पर्धाबाट छनौटका लागि दरखास्त आह्वान गरेको छ । 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयल निगमको कार्यकारी निर्देशक पदमा खुल्ला प्रतिस्पर्धाका लागि इच्छुकहरुबाट दरखास्त आह्वान गरेको हो ।

मन्त्रालयले सूचना प्रकाशित गर्दै कार्यकारी निर्देशक बन्न इच्छुकलाई असोज १२ गतेभित्र गोप्य दरखास्त पेश गर्न भनेको छ । कार्यकारी निर्देशक बन्नका लागि अर्थशास्त्र, वाणिज्यशास्त्र, इञ्जिनियरिंग वा व्यवस्थापनमध्ये जुनसुकै बिषयमा स्नातकोत्तर पूरा गरेको हुनुपर्ने भनिएको छ । 

सरकारी सेवामा अधिकृत स्तरमा रही ५ वर्ष काम गरेको, ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेकोले कार्यकारी निर्देशकमा आवेदन दिनसक्ने बताइएको छ ।

मन्त्रालयले दरखास्त दिने व्यक्तिले आवेदनका साथमा ५ हजार शब्द नबढ्ने गरी व्यावसायिक योजना र कम्तीमा २ वटा केश स्टडी समेत पेश गर्नुपर्ने भनेको छ । आवेदकले छनौट समितिका अगाडि  व्यवसायिक योजना र केश स्टडीको प्रिजेन्टेसन पनि दिनुपर्नेछ ।

आयल निगमले तेल भण्डारणका लागि विभिन्न प्रदेशमा खरीद गरेको जग्गामा अनियमितता गरेको आरोपमा तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई निलम्बन गरेको थियो । केही समयपछि उनलाई मन्त्रालय तानेर भूमिकाविहीन बनाइएपछि उनले केही समय पदबाट राजीनामा दिएपछि कार्यकारी निर्देशक पद रिक्त रहेको हो । जेठ २३ गते खड्काले राजीनामा दिएपछि नयाँ कार्यकारी निर्देशक नियुक्तिको बाटो खुलेको हो ।

निगममा यसअघिदेखि नै कार्यकारी निर्देशकमा निगमकै पूर्व निर्देशक मुुकुन्द घिमिरे आउने चर्चा चलिरहेको छ । उनलाई निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराई लगायतले टक्कर दिने स्रोत बताउँछ ।