काठमाण्डौ । नेपाल आयल निगमले एक वर्षको अवधिमा करिब १३ अर्ब रुपैयाँ मुनाफा कमाएको छ । 

पेट्रोलियम पदार्थको कारोबार गरेर निगमले एक वर्षको अवधिमा १२ अर्ब ८७ करोड रुपैयाँ नाफा कमाएको हो । यो अघिल्लो वर्षको तुलनामा ४७ प्रतिशतभन्दा बढी हो । निगमले आर्थिक वर्ष २०७५/७६ मा ८ अर्ब ७५ करोड रुपैयाँ मात्र नाफा कमाएको थियो । लामो समयदेखि ऋण रहेको निगमले आर्थिक वर्ष २०७४/७५ मा ३ अर्ब ५८ करोड नाफा आर्जन गरेको थियो । 

कोरोना भाइरस(कोभिड १९)को प्रभावले इन्धन खपत कम हुँदा पनि निगमले झण्डै १३ अर्ब रुपैयाँ नाफा कमाउने सफलता पाएको हो । 

निगमले आइतबार सार्वजनिक गरेको अन्तिम लेखा परीक्षण प्रतिवेदनअनुसार मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट इन्धन आयात गरी ढुवानी रकम बचत हुनुका साथै अघिल्ला वर्षको नाफा रकमको ब्याजआम्दानी बढेपछि निगमको नाफामा पनि सुधार आएको हो । 

निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलका अनुसार ब्याज आम्दानीतर्फको बढोत्तरी, ढुवानी खर्चमा भएको बचत तथा एलपिजी ग्याँसमा दिंदै आएको अनुदान घटेका कारण पनि आर्थिक वर्ष २०७६/७७ मा निगमको नाफा बढेर १२ अर्ब ८७ करोड पुगेको हो । पछिल्लो समय निगमले अबलम्बन गरेका सुधारका कार्यक्रमका कारण पनि नाफा बढ्न सहयोग पुगेको निगमको भनाई छ । 

अन्तराष्ट्रिय बजारमा पछिल्ला वर्ष इन्धनको मूल्य घट्नु र निगमले स्वचालित मूल्य प्रणाली लागू गर्दै गएपछि नाफा कमाउँदै आएको छ । 

इन्धनको ढुवानी रकम बचत हुनुका साथै अघिल्लो वर्षको नाफा रकमको ब्याजबाट पनि नाफा बढाउन सहयोग पुगेको प्रतिवेदनमा उल्लेख छ । 

१० महिनाको अवधिमा पाइपलाइनबाट डिजेल ढुवानी गर्दा १ अर्ब ४७ करोड बचत भएको प्रतिवेदनमा उल्लेख छ । साथै गत वर्षको नाफा रकमको बैंक ब्याजबाट मात्र १ अर्ब ७७ करोड रुपैयाँ आम्दानी भएको निगमको भनाई छ । 

भण्डारण क्षमता वृद्धिदेखि दोश्रो पाइपलाइनको योजना अघि सारेको निगमले अघिल्लो वर्षको नाफा रकम विभिन्न वाणिज्य बैंकमा राखेको थियो । 

निगमकाअनुसार नाफा रकम पूर्वाधार विकासमा खर्च गर्दै निगमलाई अघि बढाउने योजना छ । निगमले पहिलोपटक नेपाल फाइनान्सियल रिपोर्ट स्ट्याण्डर्ड(एनएफआरएस)अनुसार ब्यालेन्ससिट तयार गरेको जनाइएको छ । 

आर्थिक वर्ष २०७०/७१ मा प्रतिलिटर १ सय ३४ रुपैयाँ रहेको पेट्रोलको मूल्य ०७६/७७ को असार मसान्तसम्म घटेर एकसय २ रुपैयाँमा झरेको थियो । यस्तै सो अवधिमा १०५ रुपैयाँ रहेको डिजेलको मूल्य घटेर ८८ रुपैयाँमा सीमित बन्न पुगेको थियो । 

निगमले अन्तराष्ट्रिय मूल्यअनुसार इन्धनमा स्वचालित मूल्यअनुसार स्थानीय बजारमा मूल्य समायोजन गर्दै आएको छ । निगमले इण्डियन आयल कर्पोरेसन(आइओस)ले पठाएको मूल्यअनुसार स्थानीय बजारमा मूल्य समायोजन गर्ने गर्छ । 

निगमले आर्थिक वर्ष २०७५/७६ मा २९ करोड रहेको चुक्तापूँजीलाई १० अर्ब पूँजी वृद्धि गरी ११ अर्ब पुर्याएको थियो । 

यसैबीच, आर्थिक वर्ष ०७५/७६ मा नाफा रकमबाट निगमले सेयरहोल्डरलाई २० प्रतिशत लाभांश वितरण गर्ने समेत भएको छ । 

अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य आपूर्ति तथा उपभोक्त हित संरक्षण विभाग, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमीटेड, राष्ट्रिय बिमा कम्पनी, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकको निगममा सेयर स्वामित्व रहेको छ । 

निगममा सरकारको ९९ प्रतिशत सेयर स्वामित्व रहेको छ । 

गत वर्ष निगमले इन्धनको कारोबार गरेर सरकारलाई ६६ अर्ब ८८ करोड रुपैयाँ राजश्व बुझाएको छ । 

गत वर्ष निगमले दुई खर्ब ५ अर्ब रुपैयाँ बराबरको २५ लाख किलोलिटर इन्धन आयात गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा ११ प्रतिशतले कम हो । विश्वर फैलिएको कोरोना भाइरसको प्रभावका कारण इन्धनको आयातमा समेत कमी आएको निगमले जनाएको छ । 

सरकारलाई सबैभन्दा धेरै राजश्व बुझाउनेमा निगम अग्रस्थानमा रहेको छ । 

निगमले उपभोक्ताबाट विभिन्न शीर्षकमा उठाउँदै आएकोमध्ये सडक मर्मत शुल्कबाट पाँच वर्षको अवधिमा ४ अर्ब ९९ करोड रुपैयाँ उठिसकेको छ । 
यस्तै, प्रदूषण करबाट २ अर्ब ९४ करोड, पूर्वाधार विकास करबाट १४ अर्ब ९८ करोड रुपैयाँ उठेको छ । 

निगमले अन्तर्राष्ट्रिय मूल्यअनुसार मूल्य समायोजन गर्दै आए पनि सीमा नाकाभन्दा नेपालमा इन्धनको मूल्य सस्तो रहेको छ । 

सीमा नाकाभन्दा नेपालमा पेट्रोल ३१ रुपैयाँ ८४ पैसा र डिजेल ३७ रुपैयाँ २६ पैसा सस्तो रहेको छ । हाल पेट्रोल प्रतिलिटर १०६ र डिजेल ८९ रुपैयाँ मूल्य रहेको छ ।