काठमाण्डौ । भारतबाट मूल्य घटेर आएपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ नघटाउने भएको छ। 

भारतीय आयल कर्पोरेसन (आईओसी)ले शनिबार राति आयल निगमलाई पठाएको नयाँ मूल्यसूचीमा पेट्रोलमा प्रतिलिटर १५.७६ रुपैयाँ र डिजेलमा १६.५६ रुपैयाँ घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको छ। तर, निगमले तत्काल मूल्य नघटाउने पक्षमा देखिएको छ। 

निगम स्रोतका अनुसार पेट्रोलियम पदार्थ अझै धेरै घाटा रहेकोले तत्काल मूल्य समायोजन हुँदैन। ‘भारतबाट पेट्रोल र डिजेलको भाउ घटेर आए पनि निगम धेरै घाटामा छ’, उनले भने, ‘त्यसैले तत्काल पेट्रोलियम पदार्थको भाउ घटाउने अवस्था छैन।’

प्रतिलिटर पेट्रोलमा १४.१९ रुपैयाँ र डिजेलमा २१.९२ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ। हवाई इन्धनमा भने निगम केही नाफामा छ। एलपी ग्यासमा ५८२.४२ रुपैयाँ ४२ पैसा घाटा छ। 

हाल प्रतिलिटर पेट्रोल १८१ रुपैयाँ, डिजेल र मट्टीतेल १७२ रुपैयाँ र हवाई इन्धन (आन्तरिक) १९० र हवाई इन्धन (बाह्य) १.६४५ डलर र प्रतिसिलिन्ड एलपी ग्यास १८०० रुपैयाँ रहेको छ। 

निगमले आईओसीलाई ३१ अर्ब २० करोड बढी बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको जनाएको छ। गत असार ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकले आयल निगमलाई ७ अर्ब रुपैयाँ ऋण लगानी गर्ने निर्णय गरेको छ। पूर्वाधार शुल्कवापत जेठको शोधभर्नाबापत ५९ करोड फिर्ता दिने निर्णय पनि सरकारले गरेको छ।