काठमाण्डौ । पेट्रोलियम भण्डारणका लागि जग्गा खरीदको क्रममा भ्रष्टाचार गरेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई सरकारले पदबाट बर्खास्त गरेको छ । 

आफ्नो अमेरिका भ्रमणअघि प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार आयोजना गरेको मन्त्रीपरिषद बैठकले आपूर्ति मन्त्रालयका सचिव कृष्ण देवकोटाको सिफारिस र आपूर्तिमन्त्री शिवकुुमार मण्डलको प्रस्तावमा खड्कालाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको हो । 

सरकारका प्रवक्ता तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले आपूर्ति मन्त्रीको प्रस्तावमा खड्कालाई पदमुक्त गर्ने निर्णय भएको जानकारी दिए । 

खड्काले पेट्रोलियम भण्डारणस्थल निर्माणका लागि जग्गा खरीद गर्ने क्रममा भैरहवा, चितवन, झापा र सर्लाहीमा चलनचल्तीको भन्दा चारगुणा बढी मूल्य तिरेको देखाएर अनियमितता गरेको आरोप लागेको थियो । संसदीय समितिले खड्काको नेतृत्वमा भ्रष्टाचार भएको ठहर गर्दै उनलाई तत्काल निलम्बन गर्न सरकारलाई आग्रह गरेको थियो । अघिल्लो साता आपूर्ति सचिव देवकोटाले खड्काले भ्रष्टाचार गरेको ठहरसहितको फाइल प्रधानमन्त्री कार्यालयमा पठाएका थिए । सचिवले नै फाइल पठाएपछि आपूर्तिमन्त्री मण्डल समेत त्यसलाई प्रस्तावको रुपमा क्याबिनेटमा लैजान बाध्य भएका हुन् ।