काठमाण्डौ । नेपाल आयल निगमले विभिन्न मितिमा अनुमतिपत्र लिएर निर्माणको प्रक्रिया नै सुरु नगरेका र ग्यास बोटलिङमा ढिलाइ गरिरहेका ५० वटा ग्यास उद्योगको अनुमतिपत्र एकैपटक खारेज गरेको छ।

निगमले शुक्रबार एक सूचना जारी गर्दै ती ग्यास उद्योगको अनुमतिपत्र खारेज गरेको जानकारी गराएको हो। सूचनामा विभिन्न मितिमा अनुमति लिएका ५३ मध्ये ३ वटा उद्योगले मात्रै सर्तबमोजिमको प्रक्रिया अघि बढाएको जनाइएको छ। कैलालीको अत्तरियास्थित सैपाल ग्यास उद्योग, नवलपरासीको सगरमाथा ग्यास उद्योग र धादिङको सीता ग्यास उद्योगको अनुमतिपत्र भने खारेज नभएको निगमले जनाएको छ। 

अन्य ५० उद्योगले भने अनुमतिबमोजिम तोकिएको समयभित्र उद्योग सञ्चालनमा ल्याउन नसकेको र अनुमतिपत्र अरुलाई बिक्रीवितरण गरेर विकृति ल्याएको निष्कार्ष निगमको छ। सोही कारणले ती ग्यास उद्योगहरुको निर्माण र सैद्धान्तिक सहमति खारेज गरिएको निगमले प्रस्ट पारेको छ। 

अहिले खारेजी परेका उद्योगहरुले २०७४ माघ १४ पछि विभिन्न मितिमा निगमबाट अनुमतिपत्र पाएका थिए। तर अनुमतिपत्रमा उल्लेख भएबमोजिम ती उद्योगले समयसीमाभित्र ग्यास उठाउने गरी पीडीओ लिन नआएको निगमले जनाएको छ।