– अर्जुन तिमिल्सिना

काठमाण्डौ । देशमा भर्खर सम्पन्न प्रदेश र प्रतिनिधिसभाको चुनावको नतिजा पनि आइसकेको छ। अहिले सबैको ध्यान नयाँ सरकार गठनको विषयमा केन्द्रित भएको छ।

नयाँ सरकार गठनसँगै लामो समयदेखि स्थिर र संकुचित बनेको अर्थतन्त्र चलायमान हुने आशा बजारमा देखिन्छ। तर, साढे ८ महिनापछि सरकारले विलासिता वस्तुमाथिको आयात प्रतिबन्ध खोल्न लागेको भन्ने खबरले अहिले सेयर बजारमा तरंग उत्पन्न गरिदिएको छ। 

महँगा गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्धलाई मंसिर मसान्तपछि निरन्तरता नदिने निष्कर्षमा सरकार पुगेको स्रोत बताउँछ। ‘अब प्रतिबन्ध हटाउन कानुनी प्रक्रियामात्रै बाँकी छ’, स्रोतले भन्यो। 

राजस्व संकलन प्रभावित भएको अवस्थालाई ध्यानमा राखेर सरकारले प्रतिबन्ध खोल्न लागेको बताइएको छ। ‘अहिले अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार भइरहेकोले आयात प्रतिबन्धलाई लम्ब्याउन जरुरी नरहेको निष्कर्षमा सरकार पुगेको छ’, स्रोतले भन्यो। 

यता सेयर बजारका केही लगानीकर्ताहरु भने विलासिताका वस्तुको आयात खोल्दा विदेशी मुद्रा सञ्चितिमा दबाब पर्ने र तरलतामा झनै संकुचन आउन सक्ने तर्क गर्छन्। केही लगानीकर्ताले भने विलासिताका वस्तुको आयात खोल्दैमा पुँजीबजारमा खासै प्रभाव नपर्ने पनि दाबी गर्छन्। 

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल आयातमा लागेको प्रतिबन्ध खोल्दैमा सेयर बजारमा खासै प्रभाव नपर्ने बताउँछन् । ‘यो आयात खोल्ने वा रोक्ने एउटा प्रक्रियामात्रै हो’, उनले भने, ‘आयात रोक्नेभन्दा पनि अब बन्ने सरकारले उत्पादनमा जोड दिनुपर्छ।’

अर्थतन्त्र चलायमान हुन सबै क्षेत्र खुला हुनुपर्ने ढकालको भनाइ छ। ‘त्यसैले आयात खोल्नेबित्तिकै पुँजीबजारमा नकारात्मक प्रभाव पर्छ भन्ने कुरा मान्न सकिँदैन’, उनले भने, ‘आयात खुल्दा बजारबाट पैसा बाहिरिन्छ भन्नु हौवामात्रै हो। यो भनेको लगानीकर्ता तर्साउने र सेयर कुम्लाउने योजनामात्र हो।’

नयाँ ब्रोकर लाइसेन्स वितरण हुन लागेको उल्लेख गर्दै ढकालले नयाँ ब्रोकर हाउस खुलेपछि १२ अर्ब रुपैयाँ बजारमा आउने बताए। ‘यसले बजार झनै चलायमान हुन्छ’, उनले भने।

अब कम्तीमा २ वर्षको स्थायी सरकार बन्ने भएकोले पुँजीबारलाई राम्रै हुने ढकालको विचार छ । 

बजार जानकार गोविन्दप्रसाद घिमिरेले हाल प्रतिबन्ध लागेका गाडी, मोटरसाइकल मदिरा र मोबाइलको आयात एकैपटक खुल्दा सेयर बजारमा केही प्रभाव पर्न सक्ने बताउँछन् । ‘बजारमा ठूलो प्रभाव नपरे पनि अहिले बजार माथि जान नसक्नुमा यही कारण पनि हुन सक्छ।’

ती वस्तुका आयात खोलिँदा बजारमा फेरि तरलता संकट हुन सक्ने घिमिरको भनाइ छ। 

अर्का बजार जानकार सरोज भट्टराई पनि लामो समयदेखि रोकिएको आयात खुल्दा विदेशी मुद्राको सञ्चितीमा दबाब पर्न सक्ने बताउँछन्। ‘यदि आयात गर्ने समूहले सेयर होल्ड गरेको रहेछ भने उसले सेयर बेचेर वस्तु आयात गर्न सक्ने सम्भावना पनि रहन्छ’, उनले भने, ‘जसका कारण सेयर बजारमा सामान्य असर पर्न सक्छ।’

बजार जानकार विष्णु भुसाल पनि आयात खोल्दैमा बजारमा अहिले नै ठूलो दबाब नपर्ने बताउँछन्। ‘सामान्य प्रभाव पर्ला तर लगानीकर्ता यसैलाई लिएर त्रसित हुनुपर्ने अवस्था भने छैन’, उनले भने।