काठमाण्डौ । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको साढे ४ लाख बढी कित्ता संस्थापक सेयर आज बुधबारबाट लिलामीमा राखिएको छ।

आरएमडीसी लघुवित्तमा रहेको एनआईसी एसिया बैंक लिमिटेडको संस्थापक समूहको ४ लाख ५८ हजार २५५ कित्ता सेयर लिलामीमा राखिएको हो। लिलामी सेयरमा विद्यमान सेयरधनीका साथै जोकोही व्यक्ति, कम्पनी र संघसंस्थाहरुले आवेदन दिन सक्नेछन्। 

लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४०८ रुपैयाँ तोकिएको छ। लगानीकर्ताहरुले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य बोलकबोल गर्नुपर्नेछ। 

बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ। आवेदन काठमाण्डौको बबरमहलस्थित एनआईसी एसिया क्यापिटल लिमिटेडको कार्यालयमा पेस गर्नुपर्नेछ।

बोलपत्र पेस गर्ने अन्तिम मिति यही वैशाख २८ गतेसम्म तोकिएको छ।