काठमाण्डौ । आरएसडिसी लघुवित्त, लक्ष्मी लघुवित्त र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आज आफ्नो वार्षिक साधारणसभा (एजीएम) डाकेका छन्। 

आरएसडीसी लघुवित्तको आठौँ वार्षिक साधारणसभा रुपन्देहीको बुटवलमा हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको कुल १०.५२६३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १० प्रतिशतले हुन आउने बोनस सेयर र बाँकी ०.५२६३ प्रतिशतले हुन आउने नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।

संस्थाको चुक्तापुँजी ७३ करोड १९ लाख ५९ हजार ७६५ रुपैयाँ रहेको छ। 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि संस्थाले कात्तिक ३० गते बुक क्लोज गरिसकेको छ। कात्तिक २९ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्। 

यसैगरी लक्ष्मी लघुवित्तले आफ्नो दसौँ वार्षिक साधारणसभा काठमाण्डाको कमलपोखरीस्थित अग्रवाल भवनमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट गर्नेछ। सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित कुल २७.३७ प्रतिशत लाभांश पारित गर्नेछ। जसमा २० प्रतिशत बोनस सेयर र ७.३७ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्।

सोही सभाले अन्य इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने सम्बन्धमा आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई दिइएको अख्तियारीलाई निरन्तरता दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। 

सभाले गत आर्थिक वर्षको वार्षिक, आर्थिकलगायतका प्रतिवेदन पनि छलफल गरी पारित गर्नेछ।

लाभांश र सभा प्रयोजनका लागि संस्थाले गत कात्तिक ३० गते बुक क्लोज गरिसकेको छ। त्यसैले कात्तिक २९ गतेसम्म कायम सेयरधनीहरुमात्रै लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्। 

गुराँस लाइफ इन्स्योरेन्सले ११ औँ वार्षिक साधारणसभा काठमाण्डौको तीनकुनेस्थित राज भवनमा रहेको आफ्नो प्रधान कार्यालयमा भिडियो कन्फ्रेन्सका माध्यमबाट बिहान ११ बजेबाट गर्नेछ। सभाले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तावित कुल ५.७९ प्रतिशत लाभांश अनुमोदन गरेको छ। जसमा ५.५ प्रतिशत बोनस सेयर र बाँकी ०.२९ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।

सोही सभाले आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनलगायतका दस्तावेज छलफल गरी अनुमोदन गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले गत कात्तिक २३ गतेदेखि आज मंसिर १० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ गत कात्तिक २२ गतेसम्म कायम सेयरधनीहरुमात्रै लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।