काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले आफ्नो पाँचौँ वार्षिक साधारणसभा डोकेको छ।

संस्थाको हिजो सोमबार बसेको सञ्चालक समितिको बैठकले यही चैत ३१ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काभ्रेको बनेपास्थित पञ्चकन्या बैंक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ८.८५ बोनस सेयर अनुमोदन गर्नेछ। 

सोही सभाले बीपीडब्ल्यू लघुवित्त र देउराली लघुवित्तलाई प्राप्ति गर्न निर्धारण गरिएको १००ः९५.९५ सेयर स्वाप रेसियोसम्बन्धी विशेष प्रस्ताव पारित गर्नेछ। दुवै लघुवित्तलाई प्राप्ति गरेपछि आरम्भ चौतारीमा संस्थापक सेयरधनी र सर्वसाधारण सेयरधनीको सेयर अनुपात ६८.३०ः३१.७० गरिने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। यसअघि आरम्भ चौतारीमा संस्थापक र सर्वसाधारण सेयरधनीको सेयर अनुपात ६३.६५ः३६.३५ रहेको थियो। 

यी दुवै लघुवित्तलाई प्राप्ति गर्ने सम्बन्धमा आवश्यक अन्य सम्पूर्ण प्रक्रिया पूरा गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

लाभांश र साधारणसभा प्रयोजनका लागि संस्थाले यही चैत १६ गतेदेखि चैत ३१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ चैत १५ गतेसम्म कायम सेयरधनीहरुमात्र यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।