काठमाण्डौ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले आइतबार दिउँसो बिजशालासँग भने–‘असार १ गतेदेखि लुज गरिन लागेको निषेधाज्ञाको थप गरिएको अवधिमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका शाखा संचालनमा लागेको कडाई खुकुलो पारिनेछ । सीमित कर्मचारी राखेर तथा स्वास्थ्य सुरक्षाका मापदण्ड लागू गरी शाखाहरु खोल्न पाइनेछ ।’ 
 
उनले यस्तो खुलासा गरेको केही घण्टापछि नै काठमाण्डौ उपत्यकाका तीन जिल्ला काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्यो । बैठकपछि काठमाण्डौ जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा थपसहितको नयाँ आदेश जारी गर्यो । नयाँ आदेशमा भने भक्तपुरका सीडीओ भट्टराईले भनेजस्तो बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका सबै शाखा खोल्न पाइने भनेर प्रष्ट भनिएन । 
 
दिउँसो आएको भट्टराईको अभिव्यक्ति र साँझतिर आएको काठमाण्डौ जिल्ला प्रशासनको आदेशले सर्वसाधारणमा द्विविधा देखिएको छ । बैंक तथा वित्तीय संस्थाका शाखाको हकमा कस्तो व्यवस्था हुन्छ त अब?
 
काठमाण्डौ जिल्ला प्रशासनले यसअघि जेठ १९ गते जारी गरेको निषेधाज्ञाको आदेशमा काठमाण्डौमा वाणिज्य बैंक, विकास बैंक र बित्त कम्पनीका ६ वटा शाखा मात्र खोल्न पाइने भनी तोकिएको थियो । वाणिज्य बैंकले प्रधान कार्यालयबाहेक काठमाण्डौमा ३ वटा शाखा कार्यालय, विकास बैंकले प्रधान कार्यालयबाहेक २ वटा शाखा कार्यालय र वित्त कम्पनीले मुख्य कार्यालयबाहेक १ वटा शाखा कार्यालय मात्र खोल्न पाइने पहिलाको आदेशमा उल्लेख थियो ।
 
असार १ गतेदेखि लागू हुने नयाँ आदेशमा भने ‘राष्ट्रबैंकले तोकेको मापदण्डअनुसार सीमित संख्यामा शाखा र कर्मचारीको व्यवस्थापन गरी वाणिज्य बैंक, विकास बैंक र बित्त कम्पनीहरुले बैंकिङ कारोबार गर्ने’ भनिएको छ । 
 
स्थानीय प्रशासनले शाखा संख्या तोकेरै पहिला जारी गरेको आदेशमा लचक हुने नयाँ आदेशमा प्रष्ट संकेत गरिसकेको छ । तथापि, कति शाखा खोल्न दिने वा बैंकिङ कारोबारको समयको विषयमा कस्तो नीति लिने भन्ने विषयमा निर्णय गर्ने अधिकार भने नेपाल राष्ट्रबैंकलाई दिइएको छ । 
 
उसो भए नेपाल राष्ट्रबैंकले बैंकका शाखा खोल्ने विषयमा कस्तो सर्कुलर जारी गर्ला त ? 
 
केन्द्रीय बैंकका प्रवक्ता देवकुमार ढकालका अनुसार जिल्ला प्रशासन कार्यालयहरुले आइतबार निर्णय गरे पनि यो विषयमा छलफल गरी आवश्यक सर्कुलर राष्ट्रबैंकले सोमबार जारी गर्नेछ । 
 
‘प्रशासन कार्यालयबाट प्रष्ट रुपमा बैंकका शाखाहरु खोल्न केही लचक बन्नुपर्ने संकेत आइसकेको छ । यसमै आधारित रहेर हामी सर्कुलर जारी गर्छौ ।’ प्रवक्ता ढकालले बिजशालासँग भने–‘आर्थिक वर्षको अन्तिम महिना भएका कारण पनि सकेसम्म धेरै शाखा खोलेर आर्थिक कारोबारलाई सहज बनाउनुपर्ने कुरामा हामी सचेत छौं ।’ 
 
उनले शाखा कार्यालय संचालनमा कडाई गर्दा बढी आर्थिक गतिविधि हुने महिनामा एउटै शाखामा मानिसहरुको धेरै भीडभाड भई संक्रमण विस्तारको जोखिम हुने भएकोले यस्ता विषयलाई पनि ध्यान दिई सोमबार निर्णय लिइने सुनाए ।