काठमाण्डौ । श्रीलंकामा देखिएको आर्थिक संकटको समाधानमा ढिलाइ भइरहेको छ। 

आर्थिक संकट गहिरिँदै जाँदा समस्याहरु थपिँदै छन्। यस्तोमा श्रीलंकालाई सरकारी ऋण कसरी तिर्ने भन्ने समस्याले पिरोल्न थालेको छ। 

यो वर्ष श्रीलंकाले लगभग ४ बिलियन डलर ऋण भुक्तानी गर्नुपर्ने जनाइएको छ। तर, गत फेबु्रअरीको अन्त्यसम्म श्रीलंकासँग २.३१ बिलियन डलरबराबरको विदेशी मुद्रा मौज्दात छ। त्यस्तै श्रीलंकाको १ अर्ब बिलियन डलरको बोन्ड यसै वर्षको जुलाईमा परिपक्व हुन लागेको छ। अर्थात् १ अर्ब बिलियन डलर श्रीलंका सरकारले बोन्ड होल्डरहरुलाई भुक्तानी गर्नुपर्नेछ।

श्रीलंका सबैभन्दा ठूला ऋणदातामा जापान, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र चीन रहेका छन्। श्रीलंकाका आर्थिक अधिकारीहरुका अनुसार श्रीलंकाले चीन सरकारलाई यो वर्ष ४० देखि ५० करोड डलर ऋण भुक्तानी गर्नुपर्नेछ।  

पछिल्लो एक दशकमा चीनले श्रीलंकालाई ५ विलियन डलरभन्दा बढी ऋण दिएको छ। श्रीलंकाले यो ऋण राजमार्ग, बन्दरगाह, विमानस्थल र थर्मल पावर प्लान्ट निर्माण गर्नका लागि लिएको हो। अब यो ऋणको भुक्तानी गर्ने बेला नजिकिएको छ। 

यसै विषयलाई दृष्टिगत गर्दै गत जनवरीमा श्रीलंकाका राष्ट्रपति गोतबया राजपाक्षेले चीनका विदेशमन्त्रीलाई ऋण भुक्तानी गर्ने समय थप्न आग्रह गरेका थिए। 

यसैबीच देशमा बढिरहेको आर्थिक संकटका बीच श्रीलंका सरकारले हरसम्भव ठाउँमा हात फैलाइरहेको छ। गत साता श्रीलंकाका अर्थमन्त्री बसिल राजपाक्षेले भारत भ्रमण गरेका थिए। यो भ्रमणका क्रममा भारत सरकारले श्रीलंकालाई १ बिलियन डलर ऋण उपलब्ध गराउने घोषणा गरेको थियो। 

यस्तै अब चीनले पनि १.५ बिलियन डलरबराबरको नयाँ ऋण प्रदान गर्नेबारे विचार गरिरहेको जनाएको छ। यस विषयमा चाँडै नै निर्णय हुने सम्भावना रहेको जनाइएको छ। यो ऋणका लागि श्रीलंका सरकारले आग्रह गरेको थियो। 

चीनका राजदूत ची झेनहोंगले चाइना डेभलपमेन्ट बैंकले श्रीलंकालाई ५० करोड डलर ऋण दिने प्रस्ताव गरेको र श्रीलंका सरकारको अनुरोधमा चीन सरकारले थप १ बिलियन डलर उपलब्ध गराउनेबारेमा छलफल भईरहेको बताएका छन्।

श्रीलंकामा देखिएको आर्थिक संकटले मानिसहरुको जीवन अस्तव्यस्त बनाइदिएको छ। सरकारले वितरण गरेको अतिआवश्यकीय वस्तु लिन लागेको लाइनमा मानिसहरुको मृत्यु भइरहेको समाचार बाहिरिएका छन्। पेट्रोलको लाइनमा बस्दाबस्दै गत साता दुई जनाको ज्यान गएको थियो। त्यस्तै कागजको अभावका कारण श्रीलंका सरकारले विद्यार्थीहरुको परीक्षा नै स्थगित गुर्नपर्यो।

श्रीलंकालाई ऋण तिर्नुपर्ने समस्या एकातिर छ भने अर्कोतर्फ आयातको रकम भुक्तानी गर्नुपर्ने बोझ छ। यी आवश्यकताहरु पूरा गर्नका लागि श्रीलंकाले सम्भवत: अन्य स्रोतबाट ऋण लिनुपर्ने देखिएको छ। राष्ट्रपति राजपाक्षेले गत साता अन्तर्राष्ट्रिय मुद्रा कोषको सहयोगबाट आर्थिक संकटको समस्या समाधान गर्नेबारे विचार भइरहेको बताएका थिए। परिवेक्षकहरुका अनुसार यसबीच राजपाक्षेले अन्य स्रोतबाट समेत ऋण लिने प्रयास गरिरहेका छन्। – एजेन्सी