काठमाण्डौ । विद्युतीय कार निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्कले कर्मचारीको संख्यामा १० प्रतिशत कटौती गर्ने भएका छन्। 

अर्थतन्त्रको पछिल्लो अवस्थाबाट अत्तालिएका  मस्कले टेस्ला कम्पनीमा कर्मचारीको संख्यामा कटौती गर्ने निर्णय गरेको हो। 

समाचार एजेन्सी रोयटर्सले एउटा इन्टरनेट मेलका आधारमा यस विषयलाई लिएर रिपोर्ट सार्वजनिक गरेको छ। टेस्लाका एक्जिक्युटिभहरुलाई गत बिहीबार कर्मचारीको संख्या कटौतीसँग सम्बन्धित मेल पठाइएको थियो । उक्त मेलमा ‘पज अल हायरिङ वल्र्डवाइड’ लेखिएको थियो। 

यो मेल सार्वजनिक हुनुअघि टेस्लाले टोकियो सेल्स र बर्लिन मेगा फ्याक्ट्रीका लागि ५ हजार कर्मचारी माग गरेको थियो। 

मस्कले आर्थिक मन्दीको सम्भावनालाई औल्याउँदै कर्मचारी कटौती गर्न लागेको रिपोर्टमा जनाइएको छ। आर्थिक मन्दीको सम्भावनाका बारेमा प्रश्न उठे पनि टेस्ला र अन्य विद्युतीय सवारीको माग भन्ने बलियो नै छ। 

यद्यपि टेस्लाले चीनमा जारी लकडाउनका कारण सांघाईस्थित कारखानाबाट उत्पादन सुचारु गर्न अझै सकेको छैन। 

यसअघि मस्कले टेस्लाका कर्मचारीलाई अफिसमा आएर काम गर्न वा अफिस छोड्न उर्दी जारी गरेका थिए। सामाजिक सञ्जालमा यससँग जोडिएको मेल सार्वजनिक भएको थियो । यस मेलमा कोरोनाका कारण सुरु भएको वर्क फर्म होम अन्त्यको घोषणा गरेका थिए। 

उक्त मेलमा कर्मचारीलाई टेस्लाको मुख्य कार्यालयमा आएर काम गर्न निर्देशन दिइएको थियो। 

टेस्लाले गत वर्ष १ लाख मानिसलाई रोजगारी प्रदान गरेको थियो । –एजेन्सी