काठमाण्डौ । नेपालउद्योग परिसंघको प्रतिनिधि मण्डलले बुधबार उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई भेट गरी मुुलुकको समग्र विकासका लागि आर्थिक कूटनीतिलाई सबल बनाउन ध्यानाकर्षण गरायो ।

परिसंघका अध्यक्ष हरिभक्त शर्माको नेतृत्वमा गएको सो प्रतिनिधि मण्डलले आर्थिक विकासका लागि परराष्ट्र मन्त्रालायले देशगत आर्थिक कुटनीति अबलम्बन गर्नुपर्ने, छिमेकी मुलुकसँगको व्यापारिक निर्भरता न्यून गर्दै निकासी प्रवद्र्धनको कार्यमा ठोस र परिणाममूखी कार्ययोजनासहित सवल कार्यान्वयनमा प्राथमिकता दिनुपर्ने धारणा राख्यो । 

अध्यक्ष शर्माले हाल भारतसँगको वैदेशिक व्यापारमा नेपाली कृषिजन्य वस्तु गैरभन्सार अवरोध र थप नियमनहरु बढ्दै गएको तथा प्रान्तीय सरकारबाट नेपाली निकासीयोग्य वस्तुलाई प्रोत्साहन गर्नुपर्ने र यी समस्याहरु समाधान गर्न देशको कुटनीति सक्रिय हुनुपर्ने धारणा राखे ।

सो अवसारमा अध्यक्ष शर्माले भारतले जुलाई १ देखि वस्तु तथा सेवा कर(गुड्स एण्ड सर्भिस ट्याक्स) लागू गरेको हुदाँ त्यसबाट नेपाली अर्थव्यवस्थामा पर्ने प्रभावको बारेमा निजी क्षेत्रको समेत प्रतिनिधि समावेश गरी कार्यदल नै गठन गरेर सूक्ष्म अध्ययन गर्नु पर्नेमा जोड दिए । 

त्यसैगरी परिसंघको प्रतिनिधि मण्डलले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको दक्षता र प्रभावकारिता विस्तार गर्नु पर्ने, नेपालमा आयात हुने बल्ककार्गो रक्सौल नाकाका अतिरिक्त अन्य भन्सार बिन्दुबाट पनि आयात गर्न पाउनुपर्ने विषयमा कुटनीतिक पहल हुनुपर्ने भन्दै महराको ध्यानाकर्षण गरायो । 

सो अवसरमा उप्रधान तथा परराष्ट्र मन्त्री महराले वर्तमान सरकारले आर्थिक कुटनीतिज्ञको नै विकास गर्न सरकार प्रतिवद्ध रहेको बताउँदै हाल आर्थिक विकासलाई केन्द्र बिन्दुमा राखिसकेको परिप्रेक्षमा मुलुकमा प्राप्त श्रोत तथा साधनको अधिकतम एवं अनुकुलतम प्रयोग एवं राजनैतिक स्थिरता भएमा मुलुक अर्को चरणको विकासमा प्रवेश गर्ने र सो कार्यका लागि सरकारले निजीक्षेत्रको सहयोगको अपेक्षा गरेको बताए ।