काठमाण्डौ । बेलायतमा पहिलोपटक शुक्रबार दुईजना बिरामीमा विश्व महामारी कोरोनाभाइरसविरुद्ध तयार पारिएको भ्याक्सिन परीक्षणका रुपमा लगाइएको छ। 

यसरी बिरामीमा कोरोनाविरुद्धको भ्याक्सिन परीक्षणका रुपमा लगाइएको युरोपमै पनि पहिलोपटक हो। यो भ्याक्सिन परीक्षणका लागि बेलायतमा ८०० बिरामी छनोट गरिएको बीबीसीले जनाएको छ। यी ८०० मध्ये आधालाई कोभिड–१९ को भ्याक्सिन दिइनेछ भने आधालाई एउटा कन्ट्रोल भ्याक्सिन दिइनेछ। यो कन्ट्रोल भ्याक्सिनले मेनिनजाइटिसका बिरामीलाई बचाए पनि कोरोनाभाइरसबाट बचाउँदैन। 

यद्यपि यी ८०० जनालाई कस्तो भ्याक्सिन दिइएको भन्नेबारे भने चिकित्सकले जानकारी दिएका छैनन्। 

यो भ्याक्सिन अक्सफोर्ड विश्वविद्यालयको एउटा टोलीले तीन महिनाभित्रै विकसित गरेको हो। जेनर इन्स्टिच्युटमा भ्याक्सिनोलोजीका प्रोफेसर सारा गिलबर्टले प्रिक्लिनिकल रिचर्सको नेतृत्व गरिरहेकी छन्। 

यसअघि गिलबर्टले यो भ्याक्सिनले ८० प्रतिशत काम गर्ने दाबी गरेकी थिइन्। हाल भने उनी यस विषयमा प्रस्टसँग बोल्न चाहेकी छैनन्। यद्यपि उनले यो भ्याक्सिनबाट आफूहरु निकै आशावादी रहेको बताएकी छन्। – एजेन्सी