– प्रकाश न्यौपाने

काठमाण्डौ । नेपालको पुँजीबजारलाई सुरुआती दिनदेखि नै नेपालका राजनीतिक नेतृत्वले आफूअनुकूल चलाउँदै आएका छन्। 

विगतमा पनि राजनीतिक घटनाक्रमले पटक–पटक बजार प्रभावित हुँदै आएको थियो। यसपटक पनि नयाँ सरकार गठनदेखि नै बजारमा राजनीतिक प्रभावले निरन्तरता पाएको तर नीतिगत सुधारमा भने सरकार चुकेको गत शुक्रबार सार्वजनिक भएको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले प्रस्ट पारेको छ। 

बजार जानकार गोविन्द घिमिरे नेपालको सेयर बजारमा नेताले नीतिगत सुधारभन्दा पनि व्यक्तिगत स्वार्थअनुसार बोल्ने गरेका र लगानीकर्ताले पनि समग्र अर्थतन्त्रलाई हेरेर लगानी गर्नुपर्नेमा व्यक्तिलाई हेरेर लगानी गर्दा जोखिममा पर्ने गरेको बताउँछन्। ‘अर्थमन्त्रीमा विष्णु पौडेल आएपछि बिनाआधार बजार बढाइनु सर्वसाधारण लगानीकर्ताका लागि घातक थियो’, उनले भने, ‘जुन शुक्रबारको मौद्रिक समीक्षा र आइतबार बजारको घटाइले प्रस्ट पारेको छ।’

नयाँ अर्थमन्त्रीमा पौडेल आएकै कारण बजार बढ्नुपर्ने कुनै आधार नदेखिएको घिमिरे बताउँछन्। ‘बजारलाई सकारात्मक बनाउने नीति नल्याएसम्म लगानीकर्ताले अर्थमन्त्रीको भन्दा अर्थतन्त्रका सूचकहरु हेरेर लगानी गर्नुपर्छ’, सुझाव दिँदै उनले भने, ‘अर्थतन्त्र सुधार हुँदै गएको छ। तरलता सहज हुँदै गएको छ। ब्याजदर विस्तारै घट्दैछ । बजारलाई सकारात्मक असर पार्ने यस्ता कुरालाई ध्यानमा राखेर लगानी गर्दा नोक्सानी व्यहोर्नुपर्दैन।’

सक्रिय लगानीकर्ता दिलेन्द्र पाण्डे आइतबारको बजार घटाइ शुक्रबारकै मौद्रिक समीक्षामा पुँजीबजारलाई सम्बोधन नगर्नु नै रहेको बताउँछन्। ‘पुँजीबजारमा सुधार गर्ने भनेर मन्त्रिपरिषदमा छलफल गराउने तर नीति ल्याउने बेलामा पछाडि हट्ने अर्थमन्त्रीको कार्यशैलीले फेरि लगानीकर्ता फसेका छन्’, उनले भने।

सरकार गठन भएको बेला दलहरुबीच गरिएका सहमतिमा खटपट देखिन थालेपछि अर्थमन्त्री पौडेलले आफ्नो स्थायित्व नदेखेपछि बजारबारे लगानीकर्तासँग बोलेका कुराबाट पछि हटेको पाण्डेको आरोप छ। ‘जसका कारण लगानीकर्ता डराएर बिक्रीचाप बढाउँदा बजारमा ठूलो अंकको गिरावट आएको हो’, उनले भने। 

अर्थतन्त्रमा क्रमिक सुधार आइरहेका कारण केही घटे पनि पहिलेजस्तो आत्तिनुपर्ने अवस्था भने नरहेको पाण्डेको भनाइ छ।