काठमाण्डौ। आस्कमी भर्चुअल जब फेयर २०२० को सफलतापछि दोस्रो संस्करणको भर्चुअल जब फेयर बुधबारदेखि सुरु भएको छ। 

आस्कमी म्यानेजमेन्टले राष्ट्रिय वाणिज्य बैंकसँगको मुख्य सहकार्यमा अनलाइन प्लेटफर्ममा आस्कमी भर्चुअल जब फेयर २०२१ सुरु गरेको हो। अप्रिल २ सम्म हुने यो जब फेयरको पेमेन्ट पार्टनरमा नेपाल क्लियरिङ हाउसको कनेक्ट आईपीएस रहेको छ। 

आस्कमी म्यानेजमेन्टकी व्यवस्थापकीय निर्देशक अर्चना कुँवर क्षेत्रीका अनुसार कोरोना महामारीको विषम अवस्थामा सञ्चालन गरिएको भर्चुअल जब फेयरले रोजगारीको बजार विस्तार गर्दै सकरात्मक सन्देश प्रवाह गर्नेछ। ‘हामीले पहिलोपटक २०२० मा यो कन्सेप्ट ल्याउँदा नेपालका लागि नयाँ थियो। पहिलो वर्ष नै ४० भन्दा बढी कम्पनीले विश्वास गरेका कारण नै हामीले पूर्णसफलताका साथ पहिलो संस्करणको भर्चुअल जब फेयर सञ्चालन गरेका थियौँ’, कुँवरले भनिन्, ‘यसपटक पनि ५० भन्दा बढी कम्पनीमा जब दिलाउने लक्ष्यका साथ दोस्रो संस्करणको जब फेयर आयोजना गरिएको हो।’

भर्चुअल जब फेयरको सर्पोट पार्टनरका रुपमा बोस्टन इन्टरनेसनल कलेज, नेपाल बैंक, शिखर इन्स्योरेन्स, नेपाल इन्भेस्टमेन्ट बैंक र एनआईसी एसिया बैंक छन्। फिचर रिक्रुएटरका रुपमा जब दिलाउनका लागि फेयरमा नबिल बैंक, नेपाल बैंक, शिखर इन्स्योरेन्स, नेपाल इन्भेस्टमेन्ट बैंक, एनआईसी एशिया बैंक, जावलाखेल ग्रुप, एसबी वेब, एनएमबि बैंक, नेपाल बंगलादेश बैंक, एनसीसी बैंक, लक्ष्मी बैंक, अग्नी ग्रुपले सहभागिता जनाउँदैछन्। 

त्यसैगरी सांग्रिला डेभलपमेन्ट बैंक, रिलायबल लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स, आईएमई पे, नेको इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स, आस्कमी पसललगायतका कम्पनीहरु रोजगारदाताका रुपमा जब फेयरमा सहभागी हुँदैछन्। 

फेयरमा सहभागी हुन चाहने अन्य कम्पनीले अनलाइन स्टल राख्नका लागि आस्कमी कन्सल्ट डटकम स्लास इम्प्लोयर ड्यास जोनमा लगइन गर्नु पर्ने हुन्छ। यो पोर्टलबाट जब फेयरमा अनलाइन स्टल राख्न सकिन्छ। देशभरिका मानिसहरुले एकैसाथ यो प्ल्याटफर्ममा भिजिट गरि आवश्यकताअनुसारको रोजगारीका लागि मोबाइल वा कम्प्युटरबाटै आबेदन दिन सकिनेछ।

कतिपय कम्पनीहरुले अनलान अन्तर्वार्ता लिएर पनि कर्मचारी नियुक्त गर्न सकिने व्यवस्था गरिएको छ। साथै, कर्मचारी भर्ना गर्ने कम्पनीले आफूले चाहेजस्तो कर्मचारी पाउने भएकाले पनि जब फेयर उपलब्धिमूलक हुने अपेक्षा गरिएको छ। यस प्ल्याटफर्ममा स्वदेश फर्कन चाहने तर विदेशमा रहेका नेपालीहरुले आफूलाई उपयुक्त रोजगारी पाउने उत्तम विकल्पसमेत पाउनेछन्।