नयाँदिल्ली । सामान्यतया मानिसहरु कुनै आपतकालीन अवस्था वा जरुरतको व्यवस्थापनका लागि बैंकबाट कर्जा लिने गर्दछन् । कतिपय अवस्थामा चाहदा चाहदै पनि केही समयपछि लोनको किस्ता तिर्न नसक्ने अवस्था हुनसक्छ । जसका कारण उनीहरु बैंक डिफल्टमा पर्छन । यसपछि बैंकका लोन रिकभरि एजेन्ट तथा अफिसरहरुले ऋणिलाई बारम्बार फोन गरेर वा म्यासेज पठाएर हैरान पार्ने गर्छन् । लोन रिकभरि एजेन्ट तथा अफिसरले जुनसुकै समयमा फोन गर्नेदेखि लिएर अभद्र व्यवहार र गालीगलौजसम्म गर्ने गर्दछन् । यी सबै हर्कत गैरकानूनी हुन् । तर, हिजोआज यस्ता हर्कत सामान्य बन्न थालेका छन् । तर अब रिजर्ब बैंक अफ इण्डिया(आरबीआई)ले यस्ता हर्कतप्रति आफूहरु सचेत रहेको बताएको छ । 

आरबीआईका गभर्नर शक्तिकान्त दासले शुक्रबार भनेका छन् कि ऋणिसँग इएमआई डिफल्ट भएकै कारण कुनै लोन रिकभरि एजेन्ट वा बैंक कर्मचारीले दुव्र्यवहार गर्छन् भने त्यो अब केन्द्रीय बैंकलाई अस्वीकार्य छ । ऋणिलाई जुनसुकै समयमा फोन गरेर हैरान पार्ने, जथाभावी शब्दहरु प्रयोग गर्ने, धाकधम्की दिने र दुव्र्यवहारसम्म गर्ने हर्कतहरु हुन थालेका भन्दै त्यस्ता गतिविधि केन्द्रीय बैंकलाई स्वीकार नहुने उनले प्रष्ट पारेका छन् । उनले यस्ता हर्कतविरुद्ध केन्द्रीय बैंकले गम्भीर कदम चाल्ने चेतावनी समेत दिएका छन् । 

एक कार्यक्रमलाई सम्बोधन गर्दै यस्ता हर्कत अनरेगुलेटेड फाइनान्स कम्पनी(नेपालका सहकारीजस्तै)बाट बढी हुने गरेको र कतिपय रेगुलेटेड कम्पनी(नेपालका बैंकजस्ता)बाट पनि हुने गरेको भन्दै दुःख प्रकट गरेका भारतीय न्यूज एजेन्सीहरुले आफ्नो रिपोर्टमा उल्लेख गरेका छन् । 

दासले अगाडि भनेका छन्–‘रेगुलेटेड कम्पनीबाट यस्तो हर्कत हुन थालेकै कारण अब केन्द्रीय बैंकले कडा कदम चाल्ने तयारी गरिरहेको छ । नियमन नहुने वित्तीय संस्थाबाट हुने यस्ता हर्कतहरुलाई रोक्न ल इनफोर्समेन्ट एजेन्सीहरुलाई जानकारी गराइनेछ । हामीले बैंकहरुलाई यस्ता गतिविधिको विषयमा सजग गराइसकेका छौं ।’ 

आरबीआईको पहिलादेखि नै अस्तित्वमा रहेको गाइडलाइनका अनुसार लोन चुक्ताका लागि बाहुबलको प्रयोग गर्नु वा त्यस्तो जोरजबरजस्ती प्रयोग गर्ने धम्की दिइनु गैरकानूनी हो । यदि कुनै बैंक रिकभरि एजेन्ट वा कर्मचारीले लोन चुक्ताका लागि यस्तो हर्क  गरिरहेका छन् सो विषयमा ऋणिले यथासक्य केन्द्रीय बैंकमा कम्प्लेन गर्न समेत गभर्नर दासले सुझाव दिए । 

रिजर्ब बैंककाअनुसार कुनै पनि बैंकका रिकभरि एजेन्ट वा कर्मचारीले कर्जा चुक्ता गर्नका लागि धम्की वा उत्पीडनका साहारा लिनु हुँदैन । यस्तै, ऋणिलाई बिहान ९ बजेअघि र साँझ ६ बजेपछि फोन गर्नु पनि गैरकानूनी काम हो । 

यस्तै, कर्जा चुक्ताका लागि जोरजबरजस्ती गर्नु वा त्यस्तो गर्ने धम्की दिनु पनि गैरकानूनी भनी परिभाषित गरिएको छ । 

यति मात्र होइन, ऋणिको कार्यस्थल वा घरमा बिना जानकारी गएर आफन्त, साथीभाई वा कर्मचारीलाई धम्क्याउनु र दुःख दिनुलाई पनि आरबीआईले उत्पीडन भनेको छ । धम्की वा अभद्र भाषा समेत प्रयोग गर्न नपाइने केन्द्रीय बैंकले उल्लेख गरेको छ । 

लोन रिकभरि एजेन्ट वा अफिसर्सले यस्तो दुव्यर्वहार गर्छन् भने सो विषयमा सम्बन्धित बैंकलाई बेलैमा जानकारी दिनुपर्ने पनि दासले बताएका छन् । कुनै बैंकले ऋणिले गुनासो गरेको ३० दिनभित्र त्यसको सम्बोधन गरेनन् भने त्यस्ता बैंकलाई केन्द्रीय बैंकले जरीवाना समेत गर्ने उनको चेतावनी छ । 

यति मात्र होइन, गभर्नर दासका अनुसार यदि कुनै लोन रिकभरि एजेन्ट, बैंक कर्मचारी वा अफिसर्सले ऋण चुक्ताका बाहानामा कुनै ऋणिमाथि कुटपिट गर्छ, कुनै सम्पत्ति उठाएर लान्छ भने त्यस्ता पीडितले प्रहरीमा उजुरी दिन सक्छन् । यदि ऋण उठाउने नाममा बढी नै तनाव कसैले दिन्छ भने वकिललाई सम्पर्क गरेर अदालतमा मुद्धा समेत दायर गर्न सकिने उनको भनाई छ ।  

नेपालमा पनि कुनै पनि बैंक कर्मचारीले ऋणिको इएमआई केही ढिला हुनेबित्तिकै अनावश्यक दवाब दिने काम गर्नुहुँदैन । तर, नेपालका कतिपय बैंकहरुले भने ऋणिलाई रातदिन तङ मात्र गर्दैनन्, धाकधम्कीपूर्ण भाषा समेत प्रयोग गर्ने गर्छन् । भारतमा यस्ता हर्कतविरुद्ध कडा कदम चाल्न लागिए पनि नेपालको केन्द्रीय बैंक भने बेखबर झै देखिन्छ ।