– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । सेयर बजारमा यो साता ६ दिन नै कारोबार भएको छ। बजार ४ दिन घट्यो भने २ दिनमात्रै बढ्यो।

साताभरमा बजार २७ अंकले घट्यो। अघिल्लो साता बजार १२३ अंकले बढेको थियो। 

यो साता बजारमा २२ अर्ब ७९ करोड ९१ लाख रुपैयाँबराबरको करोबार भएको छ। अघिल्लो साता २० अर्ब ७१ करोड ४१ लाख रुपैयाँबराबर कारोबार  भएको थियो। यो हिसाबले यो साता बजारमा लगभग २ अर्ब ३९ करोडले बढी कारोबार भएको  छ। यस हिसाबले यो साता कारोबार बढ्यो भने नेप्से परिसूचकमा गिरावट आयो। 

प्राविधिक पक्ष

इचिमोकुअन्तर्गत आवरली चार्टमा १७ जुलाईमा बेस लाइनलाई कन्भर्जेन्स लाइनले तलबाट काटेर माथि लागेको थियो। (हेर्नुहोस् हरियो एरो) योसँगै मूल्यरेखाहरु पनि क्लाउड पोजिसनभन्दा माथि गएका छन्। २६ दिनपछाडि चल्ने ल्यागिङ स्पान पोजिसनले पनि मूल्यरेखा, बेस लाइन, कन्भर्जेन्स लाइन सबैलाई तलबाट काटेर माथि–माथि गएको थियो। तर, ५ अगष्टमा बेस लाइनलाई कन्भर्जेन्स लाइनलाई माथिबाट काटेर पुनः ओरालो यात्रा तय गर्दै गरेको देखिन्छ। मूल्यरेखा पनि तल झर्दै गरेको छ। क्लाउड पोजिसन भने हरियो नै रहेको देखिन्छ। बजारलाई सानो टाइम फ्रेममा हेर्दा करिब ३ साता पहिले इचिमोकुमा बनेको बुलिस क्रसओभर सकिँदै गरेको देखिन्छ। यसले अल्पकालमा बजार अझै केही समय करेक्सन नै हुन सक्ने देखिन्छ। (हेर्नुहोस् रातो एरो मुख्य तस्बिरमा) 

बोलिंगर ब्यान्ड, म्याक्डी र आरएसआईका आधारमा 

नेप्सेको दैनिक चार्टमा बोलिंगर ब्यान्डअन्तर्गत मूल्यरेखाले माथिल्लो ब्यान्डलाई छोएर करेक्सन आएको देखिन्छ। योसँगै बजारले मध्य ब्यान्डमा सपोर्ट लिन सक्ने देखिन्छ। (हेर्नुहोस् कालो एरो) 

यसैगरी बजारले म्याक्डीमा हिस्टोग्राम पोजेटिभ भए पनि एमएसीडी लाइनले सिग्नल लाइनको नजिक हुँदै गएको तर बियारिस क्रसओभर भने नभइसकेको देखिन्छ। (हेर्नुहोस् कालो एरो)

आरएसआईमा ६७ को जोनबाट घटेर न्युट्रल जोन ५२ को तहमा आएको छ। यसले बजार अल्पकालमा केही करेक्सन भएको बुझिन्छ।

फिवोनासी सिद्धान्तका आधारमा 

फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपटक बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। यदि आगामी दिनमा बजार घटेमा ०.२३ प्रतिशतको टेवामा २१७५ को विन्दुसम्म, ०.३८ प्रतिशतको टेवामा २१४७ को विन्दुसम्म, ०.५ प्रतिशतको टेवामा २१२१ को विन्दुसम्म तथा ०.६१ प्रतिशतको टेवामा २०९८ को विन्दुसम्म आउन सक्ने देखिन्छ। 

पिभट विश्लेषणका आधारमा 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।

बढेमा प्रतिरोध 

  • प्रतिरोध १– २१८८
  • प्रतिरोध २– २२३६
  • प्रतिरोध ३– २३१७

पिभट प्वइन्ट : २१०८

घटेमा सपोर्ट 

  • सपोर्ट १– २०५९
  • सपोर्ट २– १९७९
  • सपोर्ट ३– १९३१

निष्कर्ष

यो साता घटेको बजारमा आगमी साता पनि केही समय निरन्तरता पाउन सक्ने देखिन्छ। बजारलाई ट्रेन्ड लाइनका आधारमा हेर्ने हो भने ट्रेन्ड लाइनको पहिलो सपोर्ट २१४८ को विन्दुबाट तल आएपछि अबको दोस्रो सपोर्ट लगभग २०८० को विन्दु हुन सक्ने देखिन्छ। (हेर्नुहोस् माथि मुख्य तस्बिरमा) 

हाल बजार पिभट प्वइन्ट २१०८ भन्दा माथि नै भएका कारण बजार मजबुत नै रहेको देखिन्छ। पिभट प्वइन्टको पहिलो सपोर्ट २०५९ मा हुने देखिन्छ। यस हिसाबले आगमी साता यदि बजार घटेमा २०६० देखि २०८० को कुनै पनि विन्दुमा बलियो सपोर्ट लिन सक्ने देखिन्छ। अघिल्लो साता बढेको बजार यो साता केही अंक घटेको छ।  भोलुमले बजारलाई राम्रै साथ दिएका कारण आगामी साता केही कारोबारमा करेक्सनपछि बजार सम्हालिन सक्ने सम्भावना प्रबल देखिन्छ। 

म्याक्डीले पनि बजारमा बिक्रीचाप बढ्दै गएको देखिन्छ।

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषण हो। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारका लागि सिफारिस भने होइन।