काठमाण्डौ । इजरायमा कोरोनाको नयाँ भेरिएन्ट फेला परेको छ। 

इजरायली स्वास्थ्य मन्त्रालयले पहिले कोरोनाको नयाँ भेरिएन्टबाट दुईजना संक्रमित भएको पाइएको जनाएको छ। नयाँ भेरिएन्ट ओमिक्रोनको बीए.१ र बीए.२ सबभेरिएन्टको संयोजनबाट उत्पत्ति भएको हुन सक्ने बताइएको छ। 

जेरुसेलम पोस्टमा प्रकाशित समाचारअनुसार बेन–गुरियन अन्तर्राष्ट्रिय विमानस्थलबाट इजरायल फर्किने सबै यात्रुको नियमित पीसीआर परीक्षणका क्रममा दुईजना यात्रु नयाँ भेरिएन्टबाट संक्रमित भएको पाइएको हो। 

ती यात्रुहरुमा ज्वरो, टाउको दुख्ने र मांसपेशी दुखाइजस्ता हल्का लक्षण देखिएका छन्। यद्यपि उनीहरुलाई अतिरिक्त चिकित्सकीय सेवा आवश्यक नपर्ने पनि समाचारमा उल्लेख छ। 

इजरायलको स्वास्थ्य मन्त्रालयले विमानस्थलको अवस्था अनुगमन गरिरहेको र थप जानकारी उपलब्ध हुनेबित्तिकै उपलब्ध गराइने जनाएको छ। 

शमिर मेडिकल सेन्टर (असफ हारोफ) का प्रवक्ताले तथ्यांकको विश्लेषणबाट एक युनिक जेनेटिक सिग्नेचर पत्ता लागेको बताए। ‘जसले बीए.१ स्ट्रेन र बीए.२ स्ट्रेनमा हुने म्युटेसनलाई जोड्छ’, उनले भने, ‘यो ध्यानमा राख्न महत्वपूर्ण छ कि यो भेरिएन्ट पत्ता लगाउन गहन अनुक्रममार्फत मात्र सम्भव छ।’ 

उक्त डेटा तत्काल स्वास्थ्य मन्त्रालय र केन्द्रीय भाइरस प्रयोगशालामा प्रमाणीकरणका लागि पठाइएको छ। यो भेरियन्ट अहिलेसम्म संसारमा कतै पत्ता नलागेकोले यसका बारेमा धेरै थाहा छैन। तर, हदसाह मेडिकल सेन्टरका वरिष्ठ चिकित्सक प्रा. ड्रोर मेवोराचले प्रत्येक दुईदेखि तीन हप्तामा नयाँ भेरिएन्ट देखिने गरेको बताए। ‘जबसम्म यसले नयाँ भेरिएन्टको एउटा महत्वपूर्ण हिस्सा बनाउँदैन तबसम्म यसलाई एउटा प्रकार (भेरिएन्ट अफ कन्सर्न) का रुपमा परिभाषित गरिँदैन’, उनले भने। यसैबीच इजरायलमा थप ६३३२ जनामा कोरोना पुष्टि भएको छ। प्रधानमन्त्री कार्यालयले एक विज्ञप्ति जारी गर्दै विश्वका धेरै ठाउँमा बढ्दो संक्रमणका बीच देशले थप कोभिड प्रतिबन्धहरु नहटाउने घोषणा गरेको छ। – एजेन्सी