११ वर्षअघि यही बेला आन्दोलनको मौसम बनेको थियो । घर–घरबाट सर्वसाधारण तानाशाही शासनव्यवस्थाविरुद्ध सडकमा उत्रिएका थिए । के केटाकेटी, के गृहिणी, के युवा, के महिला सबै सडकमा आएका थिए । त्यही आन्दोलनको जोडले तत्कालीन राजाले गद्धी त्याग गर्नुपरेको थियो भने लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको थियो । जनआन्दोलनको सो समयमा पूर्वकै केन्द्र इटहरीबासीको योगदान पनि कम थिएन । समग्र पूर्वलाई नै नेतृत्व गर्ने गरी मानवसागर इटहरीमा उर्लिएको थियो । तत्कालीन शासकहरुको शोषण तथा गोली र लाठीलाई सहदै समेत इटहरीबासीले सफल आन्दोलन गरेका थिए । त्यही आन्दोलनका केही दुर्लभ फोटो प्रकाशन गर्ने जमर्को गरेका छौ । तपाईंको क्षेत्रको जनआन्दोलन सम्झाउने दुर्लभ फोटो भए हामीलाई पठाउन सक्नुहुनेछ । जनआन्दोलनको सही सम्झना गर्ने यो बेलामा त्यस्ता फोटोहरुलाई उच्च प्राथमिकताका साथ प्रकाशन गर्नेछौ । 

जनआन्दोलनको उपलब्धि नयाँ संविधान जारी भएपछिको जनआन्दोलनको यसपटकको सम्झना विशेष छ, यही विशेष दिनलाई आउनुहोस्, हाम्रो फोटोफिचरसँगै ताजा बनाउँदै पुलकित होऔं, जनताको संघर्षलाई एकपटक नमन गर्दै शान्त मनले सम्झियौं । हाम्रो निश्कर्ष यही हो, एउटा राजा हटाउनलाई हामी सडकमा उत्रियौं, अब फेरि अन्य राजाहरुको निरकुंशताविरुद्ध सडकमा उत्रिनु नपरोस् । नयाँ संविधानको अक्षरंश पालना होस्, जनआन्दोलनका शहीदहरुको भावनाको कदर होस्, साच्चिकै लोकतन्त्र जन–जनले अनुभूत गर्न पाउन् । सत्तामा पुग्नेहरुको रटान लगाएजस्तो साच्चिकै देशको आर्थिक विकास र कायापलट होस् । आर्थिक सूचकहरु उभो लागून् र गरीबीको रेखामुनि गिठ्ठा भ्याकूर खाने नेपालीहरुको समेत चामलको भात खाने दिन आउन् । जनआन्दोलनको मुख्य उपलब्धि संविधान कार्यान्वयनको महत्वपूर्ण खुड्किलो मानिने स्थानीय निकायको निर्वाचन तोकिएकै समयमै होस्, सबै राजनीतिक दलहरुले यो कुरामा विशेष गम्भीरता प्रदर्शन गरुन् । 

सबै तस्विरहरु : सोमनाथ बास्तोला