काठमाण्डौ। पूरै विश्व अहिले कोरोनाभाइरसको चपेटामा परेको छ। जसमा इटाली अतिप्रभावित छ।

सरकारी अधिकारीहरुका अनुसार इटालीमा शनिबार एकैदिन ६८१ जनाको ज्यान कोरोनाको महामारीबाट गएको छ। योसँगै इटालीमा ज्यान गुमाउनेको संख्या १५ हजार बढी भएको छ।

लामो समयपछि शनिबार इटालीमा नयाँ आशाको पहिलो किरण देखिएको छ। इटालीमा आममानिसको सुरक्षा गर्ने सिभिल प्रोजेक्सन डिभिजनका अनुसार इटालीमा पहिलोपटक गम्भीर संक्रमितको संख्यामा कमी आएको छ। 

डिभिजन प्रमुख एन्जेलो बोर्रेलीका अनुसार शुक्रबार इटालीका अस्पतालहरुमा गम्भीर बिरामीको संख्या ४ हजार ६८ थियो तर शनिबार घटेर ३ हजार ९९४ मा झरेको छ। दैनिकजसो बढ्दै गएको गम्भीर बिरामीको संख्या शनिबार केही घट्दा यसले इटालीमा आशाको नयाँ किरण पलाएको हो।

इटाली सरकारको साइन्टिफिक काउन्सिलका प्रमुख फ्रान्को लोकतेलीका अनुसार गम्भीर बिरामीको संख्यामा कमी आउनु एउटा महत्वपूर्ण चरण हो। तर यसको यो मतलब यो होइन कि इटालीले गम्भीर अवस्थाबाट पार पायो। उनले भने, यसबाट यतिचाहिँ प्रस्ट हुन्छ कि कोरोनाभाइरस रोकथामका लागि जुन तरिका अपनाइरहेका छौँ, त्यो सही दिशामा गइरहेको छ।

इटालीमा शनिबार थप २ हजार ८८९ जनामा कोरोना संक्रमण देखिएको थियो। योसँगै संक्रमितको संख्या ८८ हजार २७४ पुगेको छ। जब कि २० हजार ९९६ संक्रमित उपचारपछि ठिक भएर घर फर्किएका पनि छन्। – एजेन्सी