काठमाण्डौ । नेप्से परिसूचक(इण्डेक्स)मा दोहोरो अंकको बढोत्तरीसँगै कारोबार रकम(टर्नओभर)मा समेत उछाल आएको छ । अर्थात् परिसूचकको वृद्धिलाई कारोबार रकमले समेत बलियो साथ दिएकाले बजार अनुशासित ढंगले दिगो लयमा जाने संकेत देखिएको छ । 

निषेधाज्ञा र कोरोनाका कारण अन्य क्षेत्रमा लगानीको वातावरण नहुँदा अन्य क्षेत्रको लगानी समेत पछिल्लो समय सेयर बजारमा आउँदा परिसूचक र कारोबार रकमको उकालो यात्रा उछालको गतिमा बढ्न थालेको हो । 

कोरोना संक्रमितको संख्या जति बढ्दै गयो, त्यति नेप्सेको परिसूचकसमेत उक्लिरहँदा लगानीकर्तामा अब कोरोना त्रासलाई जितेको र बलियो मनोबल भएको रुपमा बुझ्न सकिने विश्लेषकहरु दाबी गर्छन् । 

बैंकहरुमा बचत र मुद्धती खातामा अत्यधिक ब्याजदर कटौती हुनु नै सेयर बजारमा लगानी दिनानुदिन ओइरिने पुरानै परिपाटीले यसपटक पनि निरन्तरता पाएको उनीहरुको भनाई छ । 

प्रविधिले जुनसुकै क्षेत्र पनि सहज हुन्छ । अहिले दोस्रो बजारमा अनलाइन प्रविधिकै कारण घरबाटै सहजरुपमा सेयर किनबेच र भुक्तानीको सुविधा भएकाले समेत लगानीकर्ताहरुको संख्या उल्लेख्य बढिरहेको र माग सिर्जना भइरहेको छ । 

अनलाइन सेयर कारोबारीको संख्या बढ्नु र सजिलै सेयर कारोबार गर्न सकिने व्यवस्थाले पनि बजार माथि उठ्न बल दिइरहेको छ । नेप्सेको मार्केट डेप्थ हेर्दा भने पनि कारोबारीहरु थोरै रकममा मोलतोल र बार्गेनिङ गरिरहेका देखिन्छन् । 

वाणिज्य बैंकहरुको सेयर अधिक आपूर्ति भएकाले सेयर चलाउन अलिक असहज हुने तर खेलाडीहरुले इन्स्योरेन्स र माइक्रोफाइनान्सका सीमित सेयर संख्यालाई चलाइदिँदा सेयरमूल्य निकै माथि उक्लिँदै गएको जानकारहरु बताउँछन् ।

नेप्सेमा आज कुल सूचीकृत कम्पनीहरुमध्ये ११७ कम्पनीका सेयरमूल्य बढे, तर ३४ कम्पनीको मूल्य ओरालो लाग्यो । 

यो दिन नेप्से परिसूचकमा २२.३१ अंकको उछाल आएको छ । नेप्से परिसूचक बढेर १४८५ विन्दूमा पुगेको यो दिन कारोबार रकममा पनि उछाल आएको छ । नेप्से परिसूचकमा उछाल आई कारोबार रकम पनि बढेर ३ अर्ब ४६ करोड माथि पुगेको यो दिन होटल समूहबाहेक सबै समूहमा बहार छायो । 

होटल समूह ०.७७ अंकले घटेको यो दिन बैंकिंग समूहमा ४.९५ अंक, व्यापार समूहमा १८.०५ अंक, विकास बैंक समूहमा १.५ अंक, बित्त समूहमा १.१ अंक, जलविद्युत समूहमा ३३.६१ अंक, निर्जीवन बिमा समूहमा २३३.७ अंक, जीवन बिमा समूहमा २६०.३३ अंकको बढोत्तरी भयो । 

यस्तै, उत्पादन तथा प्रशोधन समूहमा ८८.७१ अंकको उछाल आएको यो दिन अन्य समूहमा ३७.४ अंक, माइक्रोफाइनान्स समूहमा ८.५८ अंक र म्युचुअल फण्ड समूहमा ०.०८ अंकको बढोत्तरी भयो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १८९ कम्पनीका ७७ लाख ६३ हजार ५६ कित्ता सेयर ३ अर्ब ४६ करोड २५ लाख ८६ हजार १२५ रुपैयाँमा किनबेच भएको छ । 
सबैभन्दा बढी २८ करोड ७४ लाख बढीको कारोबार नेपाल पुनर्बिमा कम्पनीले गरेको छ । 

नेको इन्स्योरेन्सले १७ करोड ७८ लाख बढीको कारोबार गरेको यो दिन नेपाल लाइफ इन्स्योरेन्सको १६ करोड ८१ लाख, शिवम सिमेन्टको १५ करोड ७१ लाख, हिमालयन डिस्टीलरीको १५ करोड ३२ लाख, सूर्या लाइफ इन्स्योरेन्सको १२ करोड ८७ लाख, नेशनल लाइफ इन्स्योरेन्सको १० करोड ११ लाख, एनआइसी एशिया बैंकको ९ करोड ९९ लाख, एनएमबी बैंकको ९ करोड ८६ लाख र नेपाल इन्स्योरेन्सको ९ करोड १६ लाख बढीको कारोबार भयो । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन ४ वटा कम्पनीको सेयरमा पोजिटिभ सर्किट लाग्यो । 

नेपाल पुनर्बिमा कम्पनी, उन्नति सहकार्य लघुवित्त, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमीटेड र सिनर्जी पावर डेभलपमेन्ट लिमीटेडको सेयर मूल्य १० प्रतिशत हाराहारीमा बढेर सर्किट लागेको हो । 

अरुण काबेली पावर लिमीटेड, रैराङ हाइड्रोपावर, पाँचथर पावर कम्पनी लिमीटेड र युनियन हाइड्रोपावर लिमीटेडको सेयरमूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भयो । 

यो दिन ३६ कम्पनीका लगानीकर्ताले गुमाए । सबैभन्दा बढी हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमीटेडको सेयरमूल्य ७.२९ प्रतिशतले घट्यो । घोडाघोडी लघुवित्तको सेयरमूल्यमा ४.५८ प्रतिशतको गिरावट देखियो ।