काठमाण्डौ । कोरोना भाइरसको नयाँ इपीसेन्टरको रुपमा जोखिममा फस्दै गएको अमेरिकाले संकटमा परेको अर्थतन्त्रलाई जोगाउन २ लाख करोड डलर बराबरको राहात प्याकेज ल्याउने तयारी गरिरहेको छ । 

सिएनएन मनीका अनुसार सो प्याकेजको विषयमा ह्वाइट हाउस र सिनेटबीच सहमति भइसकेको छ । 

यो खबर बाहिर आएसँगै अमेरिकी सेयर बजार परिसूचक डाउजोन्समा मंगलबार ११.४ प्रतिशतको उछाल आयो । सन् १९२९ को महामन्दीपछिकै डाउजोन्सको यो उछाल सबैभन्दा बढी रहेको थियो । 

अमेरिकामा बुधबार राति(नेपाली समयअनुसार) सो प्याकेज कार्यक्रम सिनेटमा पेश हुनेछ । त्यहाँबाट पास भएपछि योसँग सम्बन्धित सबै जानकारी बाहिर आउने बताइएको छ । 

तर, समाचारमा यो प्याकेजलाई अमेरिकी इतिहासकै सबैभन्दा ठूलो प्याकेज भनिएको छ । सदनबाट पास भएलगत्तै यो प्याकेज विश्वका कुनै पनि देशबाट पारित भएको हालसम्मकै सबैभन्दा ठूलो प्याकेज समेत हुने दाबी गरिएको छ । 

समाचारमा भनिएअनुसार २५००० करोड डलरको फण्ड यस्ता व्यक्तिहरुका लागि हुनेछ, जसको नोकरी कोरोना भाइरसका कारण गयो र रोजगार प्रभावित भयो । यस्ता मानिसहरुलाई अमेरिकी सरकारले सोझै चेकबाट भुक्तानी दिनेछ । 

वार्षिक ७५ हजार डलर वा यो भन्दा कम कमाई गर्ने व्यक्तिलाई १२०० डलरको सहयोग प्राप्त हुनेछ । यस्तै, १ लाख ५० हजार डलर वार्षिक ग्रस कमाई हुने गर्ने दम्पत्तिलाई सरकारले २४०० डलर सहयोग गर्नेछ । साथै, प्रत्येक बच्चाका लागि ५०० डलरको सहयोग प्याकेज छुट्टै प्राप्त हुनेछ । 

अमेरिकाका साना कम्पनीहरुको विजिनेश बन्द नहोस् भन्ने उद्देश्यले ३५ हजार करोड डलरको अलग्गै फण्ड बनाइनेछ । 

एम्प्लोयमेन्ट इन्स्योरेन्स बेनिफिटका लागि २५ हजार करोड डलरको फण्ड तयार हुनेछ । 

संकटग्रस्त कम्पनीहरुलाई सरकारले लोन दिनका लागि ५० हजार करोड डलरको फण्ड तयार गर्नेछ । 

यो प्याकेजमा एक विशेष प्रावधान समेत रहनेछ । डोनाल्ड टम्प, उनका परिवारका कुनै सदस्य, कंग्रेसका कोही पारिवारिक सदस्यले यो प्याकेजको राशिबाट कुनै पनि किसिमको लोन लिन पाउने छैनन् । यो प्रावधान प्याकेज रकमको दुरुपयोग नहोस् भन्नका लागि राखिएको समाचारमा उल्लेख गरिएको छ । 

यदि कोरोना भाइरसकै कारण कुनै अमेरिकी नागरिकको जागिर गएको छ भने पति पत्नीका लागि २४०० डलर र प्रत्येक बच्चाका लागि ५०० डलर पुनः अलग्गै दिइने बताइएको छ । 

अमेरिकी सरकारले राहात प्याकेज ल्याउन लागेको खबरले एशियाली सेयर बजारहरुमा समेत सकारात्मक प्रभाव परेको छ । एशियाली देशका सेयर बजारमा लगातार दोश्रो दिन पनि उछालको अवस्था देखियो । 

हालसम्म अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण ८०० बढीको मृत्यु भइसकेको छ । यहाँ कोरोनाबाट संक्रमित हुनेको संख्या बढेर ६० हजार पुगिसकेको छ ।