काठमाण्डौ । सन् २०२२ साल एलन मस्कका लागि सुखद् रहेन। १३७ अर्ब डलरको कुल सम्पत्तिको साथ उनी हाल विश्वको दोस्रो धनीव्यक्ति हुन्। 

पछिल्लो १२–१४ महिनामा मस्कको सम्पत्तिमा ठूलो गिरावट आएको छ। खासगरी ४४ अर्ब डलरमा ट्विटर किन्दा टेस्लाको सेयरमा दबाब निकै बढेको छ। फलस्वरूप उनको नेटवर्थमा भारी गिरावट आएको हो।

मस्क इतिहासमा पहिलो व्यक्ति बनेका छन्, जसको सम्पत्ति उच्च स्तरबाट २०० अर्ब डलरले घटेको छ। गत नोभेम्बर २०२१ मा मस्कको कुल सम्पत्ति ३४० अर्ब डलर नाघेको थियो। गत डिसेम्बरको सुरुआतसम्म उनी संसारको सबैभन्दा धनी व्यक्ति थिए। फ्रान्सेली व्यापारी बर्नार्ड अर्नाल्टले उनलाई पछाडि पारे। १६२ अर्ब डलरको साथ अर्नाल्ट हाल विश्वको सबैभन्दा धनीव्यक्ति बनेका छन्। 

नोभेम्बर २०२१ को तुलनामा मस्कको सम्पत्ति २०३ अर्ब डलरले घटेको छ। टेस्लाको सेयरमूल्यमा आएको उछालले मस्कको सम्पत्ति रकेटको गतिमा बढाउन ठूलो योगदान पुर्याएको थियो। २०२२ मा टेस्लाको सेयरभाउ ६५ प्रतिशतले घटेको छ। टेस्लाको सेयर विगत ५ महिनादेखि लगातार घटिरहेको छ। अहिले यसको मूल्य लगभग १२३ डलरको आसपासमा रहेको छ। 

वर्ष २०२१ मस्कका लागि सफलताले भरिएको थियो। यो वर्ष नै उनको सम्पत्ति २०० अर्ब डलर नाघेको थियो। जेफ बेजोसपछि उनी दोस्रो व्यक्ति बनेका छन्। सोही वर्ष उनको सम्पत्ति ३०० अर्ब डलर नाघेको थियो। यो आँकडा पार गर्ने उनी इतिहासकै पहिलो व्यक्ति पनि हुन्।

कोरोना महामारीको बेला टेस्लाको स्टक यति बढ्यो कि कम्पनीको मार्केट क्याप १ ट्रिलियन डलर नाघेको थियो। मार्केट क्यापको हिसाबले यो एप्पल, अमेजन, गुगलजस्ता कम्पनीसँग उभिएको छ। 

न्युयोर्क पोस्टको रिपोर्टअनुसार मस्कको स्पेस एक्सप्लोरेसन टेक्नोलोजी कर्पोरेसनमा ४४.८ अर्ब डलरको सेयर छ। कम्पनीमा उनको ४२.२ प्रतिशत सेयर छ। –एजेन्सी