काठमाण्डौ । लाभांश अनुमोदन मुख्य अजेन्डासहित इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो चौथो वार्षिक साधारणभा डोकेको छ।

संस्थाको पुस २७ गते बसेको सञ्चालक समितिको बैठकले सभा आउँदो माघ २४ गते डोकेको हो। सभा नवलपुरको गैंडाकोटस्थित संस्थाको केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट हुने संस्थाले जनाएको छ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १४.२५ प्रतिशत बोनस र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।

सोही सभाले अन्य उपयुक्त एक वा एकभन्दा बढी लघुवित्त संस्थाहरु गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने वा प्राप्ति हुने प्रयोजनाका लागि आवश्यक सम्पूर्ण प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। 

लाभांश र सभा प्रयोजनका लागि संस्थाले आउँदो माघ ९ गतेदेखि माघ २४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ माघ ८ गतेसम्म कायम सेयरधनीहरुमात्र संस्थाले प्रस्ताव गरेको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।