काठमाण्डौ । नवलपरासी जिल्ला (ब.सु.पू.) को गैंडाकोट नगरपालिका वडा नं २ मा केन्द्रीय कार्यालय रहेको इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड आज माघ ७ गतेबाट छैटौँ वर्षमा प्रवेश गरेको छ।
संस्थाले आफ्नो पाँचौँ वार्षिक स्थापना दिवस आज एक कार्यक्रम गरी मनाएको छ। २०७३ असार ३० गते कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भई नेपाल राष्ट्र बैंकबाट मिति २०७३ पुस १७ गते वित्तीय कारोबार गर्ने इजाजतपत्र प्राप्त गरी विधिवत रुपमा संस्थाले २०७३ माघ ७ गतेदेखि कारोबार सुरु गरेको थियो। नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजतपत्र प्राप्त गरी कारोबार गरेको वित्तीय संस्थाको चुक्तापुँजी रु. ४१ करोड ४५ लाख १३ हजार २८४ रहेको छ।
संस्थाले देशभरि नै लघुवित्त सेवा विस्तार गर्ने अठोट लिएअनुसार कार्यक्रमलाई विस्तार गर्न, लघुवित्त वित्तीय संस्थाहरुमा दोहोरोपनामा कमी ल्याउन, संस्थालाई अझ सक्षम तथा दिगो बनाउन नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गरी गत भदौ ४ गतेदेखि एकीकृत कारोबार गरेको छ। संस्थाको पहुँच हाल सातै प्रदेशका ४१ जिल्लामा रहेको छ।
पाँचौं वार्षिकोत्सवको पूर्वसन्ध्यामा गैंडाकोट नगरपालिका वडा नं १ मा रहेको नवजीवन अपांग बाल आश्रममा रहेका अपांग बालबालिकाका लागि संस्थाका तर्फबाट सहयोग सामग्री वितरण संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रविणकुमार लामा तथा गैंडाकोट नगरपालिका वडा नं २ का वडा अध्यक्ष ध्रुवराम पौडेलले संयुक्त रुपमा गरेका थिए।
संस्थाले हालसम्म विपन्न वर्गका मानिसलाई सहज रुपमा डिजिटल लघु बैंकिङ सुविधा उपलब्ध गराउँदै आएको छ। हालसम्म संस्थाले ८० हजार ४१२ सदस्यलाई विभिन्न उद्देश्यमा प्रदान गरेको बाँकी कर्जा रु. ४ अर्ब ७ करोड ३२ लाख रहेको छ भने ग्राहक सदस्यको बचत रकम रु. १ अर्ब १८ करोड ३१ लाख रहेको छ।
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
3 hours ago
3 hours ago