काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो छैटौँ वार्षिक साधारणसभा डाकेको छ। 

संस्थाको सञ्चालक समितिको मंगलबार (माघ १७ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो फागुन १३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा नवलपरासीको गैंडाकोटमा बिहान ११ बजेदेखि सुरु हुनेछ। 

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको २० प्रतिशत बोनस सेयर अनुमोदन गर्नेछ। बोनस सेयर वितरणपछि चुक्तापुँजी र जारी पुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ। 

सभाले अन्य उपयुक्त लघुवित्त संस्थासँग मर्जर प्रक्रिया अगाडि बढाउन आवश्यक देखिएमा सम्पूर्ण क्रियाकलाप गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रस्ताव पारित गर्नेछ। 

गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि सभामा छलफल गरी स्वीकृत गरिनेछ। 

वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि संस्थाले फागुन २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ फागुन १ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।