काठमाण्डौ । इमर्जिङ नेपाल लिमिटेडको आईपीओमा आवेदन दिने आज फागुन १ गते अनितम दिन रहेको छ।

गत माघ २६ गतेबाट यो कम्पनीले ५ करोड ५५ लाख ६० हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको छ। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइने धितोपत्र बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेडले जनाएको छ। 

कम्पनीले १०० अंकित दरका कुल ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ जारी गरिएको छ। कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने ११ हजार ११२ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशतले हुन आउने २७ हजार ७८० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ५ लाख १६ हजार ७०८ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

यो आईपीओमा न्यूनतम १० र अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन पाइनेछ। नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। सीडीएससीको मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ।

सीडीएससीका अनुसार शुक्रबार साँझ ५ बजेसम्म इमर्जिङ नेपालको आईपीओमा १८ लाख २ हजार १८२ आवेदकबाट कुल २ करोड ९ लाख ६९ हजार १९० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ४०.५८ गुणाले बढी हो। 

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओको बाँडफाँड गोलाप्रथाबाट हुनेछ। जसमा भाग्यमानी ५१ हजार ६७० आवेदकले १० कित्ता दरले सेयर पाउनेछन् भने तिनैमध्ये ८ आवेदकले थप १-१ कित्ता सेयर पाउनेछन्। 

इमर्जिङ नेपालको आईपीओलाई धितोपत्र बोर्डले गत माघ ९ गते निष्कासन अनुमति दिएको थियो।