काठमाण्डौ । बिमा कम्पनीहरुले बिमितहरुले इमेलमार्फत लिखित अनुरोधका आधारमा समेत बिमालेख नवीकरण गर्नुपर्ने भएको छ । 

नियामक बिमा समितिले बिहीबार एक सर्कुलर जारी गर्दै यस्तो व्यवस्था गरेको हो । 

कोभिड १९ को संक्रमण र यसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन जारी गरेका कारण सिर्जित असामान्य परिस्थितिमा बिमा अवधि समाप्त भएको बिमालेखको हकमा सम्बन्धित विमितले इमेलबाट पठाएको लिखित अनुरोधका आधारमा बिमालेख नवीकरण गर्न भनिएको छ । 

यस्तै, समितिले जीवन बिमा सम्बन्धी प्रिमियम संकलन गर्ने समयावधि बैशाख मसान्तसम्म थप गर्न निर्देशन दिएको छ । उक्त अवधिको ब्याज नलाग्ने व्यवस्था गर्न समेत सम्बद्ध कम्पनीहरुलाई भनिएको छ ।

यस्तै, चैत महिनामा नवीकरण गर्नुपर्ने बिमा अभिकर्ता र सर्भेयरको इजाजतपत्र नवीकरणको म्याद बैशाख मसान्तसम्म थप गरी सोबापत जरीवाना नलाग्ने व्यवस्था मिलाउन समेत निर्देशन दिइएको छ । 

निर्जीवन बिमकले तत्काल सिर्जना हुने दाबी भुक्तानीका लागि विद्युतीय माध्यमबाट समेत निवेदन प्राप्त भएमा अवस्था सामान्य भएपछि तत्काल सर्भेयर खटाई क्षति यकिन गरी दाबी भुक्तानी गर्न समेत बिमा समितिले निर्देशन दिएको छ । 

केही दिनअघि अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना प्रभावबाट बच्न सरकारकोतर्फबाट घोषणा गरेका राहात प्याकेजमा बिमा सम्बन्धमा भएको व्यवस्थालाई टेकेर बिमा समितिले यस्तो निर्देशन दिएको देखिन्छ ।