– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भएको छ। बजार ४ दिन बढ्यो भने १ दिन घट्यो। 

अघिल्लो साता २०२९.०३ को विन्दुमा बन्द भएको बजार यो साता २१४३.९४ को विन्दुमा बन्द भयो। यस हिसाबले सेयर बजारमा यो साता ११४.९१ अंकको बढोत्तरी आएको छ। अघिल्लो साता पनि सेयर बजार १६२ अंकले उकालो लागेको थियो। पछिल्लो २ साताको अवधिमा मात्रै बजार २७६ अंकले बढेको छ। 

यो साता सेयर बजारमा झन्डै १८ अर्ब ८० करोड रुपैयाँबराबरको कारोबार भएको छ। यस्तो कारोबार अघिल्लो साता १० अर्ब ८३ करोड रुपैयाँबराबरको भएको थियो। यस हिसाबले यो साता सेयर बजारमा ८ अर्बले सेयर कारोबार बढेको छ। 

प्राविधिक पक्ष

इलिअट वेभका आधारमा

इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छन्। 

यो वेभअनुसार बजारको अहिलेको मुभमेन्टलाई हेर्ने हो भने ३२०० मा अल टाइम हाई बनाएको बजारले ए, बी र सी करेक्सनहुँदै १८०६ मा एउटा चक्र पूरा गर्यो। 

इलिअट वेभलाई गणना गर्दा पछिल्लोपटकको न्यून विन्दुलाई आधार मान्ने विश्वव्यापी प्रचलनअनुसार १८०६ लाई आधार मानेर वेभ गणना गर्दा १८०६ देखि २२०० सम्म वेभ १ बनेको देखिन्छ। वेभ २ करेक्सन भएर पुनः लगभग १८१० सम्म आएको छ। वेभ २ लगभग ९९ प्रतिशतसम्म तल आउन सक्छ। तर, पहिलेको विन्दुभन्दा तल गएको खण्डमा यो गणन अमान्य हुन सक्थ्यो। यस हिसाबले अब बजार कतिसम्म माथि जान सक्छ भनेर सहज अनुमान लगाउने विधि भनेको फिवोनासी नै हो। 

फिवोनासी र इलिअट वेभलाई मिलाएर हेर्दा अबको वेभ ३ भनेको फिवोको १.६१ प्रतिशतसम्म जान सक्छ। त्यो भनेको न्यूनतम २५०० हुन जान्छ। यसबीचमा पनि बजारमा स–साना करेक्सन आएरमात्रै बजार माथि जान सक्छ। 

वेभ ४ लगभग ०.३८ प्रतिशत करेक्सन हुने भएकोले बजार एकपटक २५०० पुगेपछि करेक्सन भएर २३०० सम्म आउन सक्छ। त्यसपछि वेभ ५ फिवोनासीको २.६१ प्रतिशतको वृद्धिले बजार लगभग २९०० अहिलेको बढोत्तरीले ६–८ महिनाको समय लिएर पुग्न सक्छ। त्यसपछि बजारले ए, बी र सी करेक्सनसहित पुनः २५०० मा नै आउन सक्छ। (माथि मुख्य तस्बिरमा हेर्नुहोस्)

बोलिंगर, म्याक्डी र आरएसआईका आधारमा

साप्ताहिक चार्टमा बजारलाई बोलिंगर ब्यान्डमार्फत हेर्दा बजारले अघिल्लो साता मध्य ब्यान्डलाई ब्रेक गरेर माथि गएको छ। यो साता ब्यान्डको मध्य ब्यान्डसँगै हिँड्न खोजेको देखिन्छ। अप्पर ब्यान्ड र लोवर ब्यान्डको दूरी घट्दै गएको देखिन्छ। 

म्याक्डीमा केही समयपहिला बनेको बुलिस क्रसओभर हालसम्म पनि भ्यालिड नै रहेको छ। योसँगै आरएसआई पनि अप ट्रेन्डमा ५८ को तहमा पुगेको देखिन्छ। 

समग्रमा यी तीनवटै इन्डिकेटरले बजार बुलिस रहेको देखिन्छ। 

पिभट विश्लेषणका आधारमा 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।

बढेमा प्रतिरोध 

  • प्रतिरोध १– २०५९
  • प्रतिरोध २– २१४९
  • प्रतिरोध ३– २२६८

पिभट प्वइन्टः  १९६९

घटेमा सपोर्ट 

  • सपोर्ट १– १९०९ 
  • सपोर्ट २– १७८९
  • सपोर्ट ३– १७२९

निष्कर्ष 

अघिल्लो साता बढेको बजारको वृद्धिले यो साता पनि निरन्तरता पाएको छ। तर, यो साता अघिल्लो साताभन्दा केही अंक कम बढेको छ। यो साता अघिल्लो साताको तुलनामा भोलुम भने बढेको छ। कारोबार र भोलुम तथा सूचक हेर्दा बजार बुलिस यात्रामा देखिन्छ। 

बजारलाई इलिअट वेभमार्फत हेर्दा अबको यात्रा इन्टरमिडियटको वेभ ३ भएको भन्न सकिन्छ। वेभ ३ लामो र ठूलो हुने भएको कारण बजारले केही समय लिएर पहिलेको बुललाई ब्रेक गर्न सक्ने प्रबल सम्भावना देखिन्छ। 

प्राइस एक्सनमार्फत हेर्दा पनि बजार अप ट्रेन्ड नै देखिन्छ। डाउ थेउरीमा ३० मिनेटको टाइम फेरमअन्तर्गत हेर्ने हो भने बजारले हाएर हाई र हाएर लोका सिरिज बन्दै गएको देखिन्छ। १८५० लाई आधार बनाएको बजारले डाउ थेउरीमा १९६० मा हायर लो कन्फर्मेसन गरेर बजार इन्ट्रीको कन्फर्मेसन दिएको छ। इन्डिकेटरमार्फत हेर्दा पनि सुपर ट्रेन्ड, मुभिङ एभरेज, म्याक्डी, इचिमोकुजस्ता सबै इन्डिकेटरले बजारले लगभग बुलिस यात्रा तय गर्दै गरेको छ। जसलाई यो साताको भोलुमले पनि पुष्टि गर्छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।