काठमाण्डौ । नेपालको पहिलो र अग्रणी भुक्तानी प्रणाली सेवा प्रदायक ‘इसेवा’ले सञ्चालन गरेको ‘बीमाशुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ’ योजनामा इलामका अनुपम पोखरेलले नगद एक लाख रुपैयाँ जित्न सफल भएका छन्। उनले नेपाल लाइफ इन्स्योरेन्सको बीमा शुल्क इसेवामार्फत भुक्तानी गरेका थिए। 

इसेवाले बीमितहरुलाई घरमै बसेर बीमा शुल्क भुक्तानी गर्न प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले जेठ ५ गतेदेखि भदौ ५ गतेसम्म लखपति योजना सञ्चालन गरेको थियो।  

यस योजनामा बम्पर उपहार विजेता अनुपम पोखरेललाई बीमा गराउने अभिकर्ता रोहित पोखरेलले समेत रु. २० हजार नगद जित्न सफल भएका छन्। यसका साथै पोखरेलको बीमा गरेको नेपाल लाइफ इन्स्योरेन्सको इलाम शाखाले समेत नगद रु. २० हजार प्राप्त गरेको छ। विजेताहरुलाई शुक्रबार एक कार्यक्रमका बीच इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले नगद हस्तान्तरण गरेका छन्। 

लखपति योजनाभर इसेवाबाट बीमा शुल्क भुक्तानी गर्ने ९४ जनाले नगद रु. १–१ हजार रुपैयाँ जित्न सफल भएका छन्। इसेवाले हरेक हप्ता गोलाप्रथामार्फत साप्ताहिक विजेता चयन गरेको थियो। 

नगद हस्तान्तरण कार्यक्रममा इसेवाका प्रमुख कार्यकारी सुभास सापकोटाले भने, ‘हामीले बीमितहरुले घरमै बसेर बसेर आफ्नो बीमा शुल्क भुक्तानी गर्नका लागि प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले यो योजना सञ्चालन गरेका थियौँ। यसमा आमबीमितहरुको उत्साहजनक सहभागिता रह्यो। यसले हामीलाई थप हौसला प्रदान गरेको छ। आगामी दिनमा पनि हामीले बीमा क्षेत्रमा डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न थप योजनाहरु सार्बजनिक गर्नेछौँ।’

यसैगरी कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्सका आइटी प्रमुख शरदचन्द्र प्याकुरेलले भने, ‘इसेवाले नेपालको डिजिटल भुक्तानीमा अग्रणी भूमिका खेल्दै आइरहेको छ। पछिल्लो समय इसेवाले बीमा क्षेत्रको भुक्तानीलाई पनि अनलाइन मार्फत गर्नका लागि प्रोत्साहन गरिरहेको छ। जसले गर्दा बीमा क्षेत्रमा थप सहजता ल्याइरहेको छ। यसले बीमा गर्ने बीमित, बीमा एजेन्टदेखि हामीजस्ता कम्पनीहरुलाई पनि निकै सजिलो भइरहेको छ।’

योजना अवधिभर इसेवामार्फत ४ अर्ब बढीको कारोबार भएको योयो। यस अवधिमा ६० वटाभन्दा धेरै बीमा शुल्क इसेवामार्फत भुक्तानी भएका थिए। 

इसेवाले हाल एन्ड्रोइड मोबाइलमा ५५ लाख र आईओएस मोबाइलमा करिब १० लाख गरी ६५ लाख बढी ग्राहकलाई एपमार्फत सेवा प्रदान गरिरहेको छ। इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यममार्फत धेरै किसिमका सहजता ल्याएको छ।

इसेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, मोबाइल, टेलिफोन रिचार्ज तथा टपअप, हवाईजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका सेवाहरुको शुल्क भुक्तानी गर्न सकिन्छ। इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन्। यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ।