काठमाण्डौ । डिजिटल भुक्तानीमा नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र विभिन्न क्षेत्रका सफ्टवेयर निर्माणमा विगत १७ वर्षदेखि क्रियाशिल कम्पनी इन्फोडेभलपर्सबीच सहकार्यको सम्झौता भएको छ। 

सहकारी तथा माइक्रोफाइनान्सलाई पनि डिजिटल भुक्तानीमा जोड्ने उद्देश्यले एक कार्यक्रकाबीच सम्झौता भएको हो। सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र इन्फोडेभलपर्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले हस्ताक्षर गरेका छन्। 

कार्यक्रममा इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने, ‘अहिले पनि ९० प्रतिशतभन्दा धेरै रकम क्यासमा कारोबार भइरहेको छ। यसलाई डिजिटल बनाउन सहकरी र माईक्रोफाइनान्सको भूमिका ठूलो रहेको छ। यो सहकार्यले डिजिटल इकोनोमी बनाउने अभियानमा ठूलो सहयोग पुग्नेछ भन्ने विश्वास लिएका छौँ।’

यस्तै इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले भने, ‘इसेवासँगको सहकार्यले सहकारी र माइक्रोफाइनान्स्लाई डिजिटल भुक्तानीमा जोड्दा सदस्यहरुलाई सहज हुनुका साथै सहकारी र माइक्रोफाइनान्सको निक्षेप पनि बढ्नेछ। यसले समग्र अर्थतन्त्रलाई पनि चलायमान बनाउनेछ।’

सम्झौतासँगै इन्फोडेभलपर्सले निर्माण गरेका सफ्टवेयर प्रयोग गरेका सहकारी तथा माइक्रोफाइनान्स डिजिटल भुक्तानीमा जोडिनेछन्। उनीहरुले कोर बैंकिङ सिस्टमबाटै डिजिटल भुक्तानीको सुविधा दिन सक्नेछन्।  जसबाट सहकारी तथा माइक्रोफाइनान्सका सदस्यले युटिलिटी बिल भुक्तानी, रेमिट्यान्स भुक्तानी, एक सहकारी खाताबाट अर्को सहकारी खातामा रकम ट्रान्सफर, बैंकमा रकम ट्रान्सफर तथा क्यूआर स्क्यान गर्ने सुविधा पाउनेछन्। यो सम्झौतासँगै सहकारी तथा माइक्रोफाइनान्सका सदस्यले पनि बैंकका ग्राहकले जस्तै सबै सुविधा उपयोग गर्न पाउनेछन्। 

कार्यक्रममा विभिन्न सहकारी तथा माइक्रोफाइनान्सका  सञ्चालक, व्यवस्थापक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो। 
कार्यक्रममा इसेवाका प्रमु्ख रणनीतिक अधिकृत रोशन लामिछाने, इसेवा मनी ट्रान्सफरका प्रमुख बिजनेस अधिकृत सागर खनाल र इन्फो डेभलपर्सका डेपुटी सीटीओ स्मरण दुवाडीले कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यक्रममा नेसनल सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईं, नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादव, शुक्रपथ बहुउदेश्यीय सहकारीका प्रमुख कार्यकारी अधिकृत मधुकर वाग्लेका बीचमा डिजिटल भुक्तानीको महत्व शीर्षकमा छलफल भएको थियो। छलफलको सहजीकरण कुमारी बैंकका डिजिटल बैंकिङ प्रमुख अनिश ताम्राकारले गरेका थिए। 

मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ४२ लाख नाघेको छ। यसैगरी अप्रत्यक्ष रूपमा करिब १ करोड ५० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन्। हाल इसेवाका देशभर करिब एक लाखभन्दा बढी एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन्। हाल इसेवामा मर्चेन्टको संख्या १ लाख ८५ हजार नाघिसकेका छन्। 

इन्फो डेभलपर्स सूचना प्रविधिको क्षेत्रमा क्रियाशील अग्रिण संस्था हो। सूचना प्रविधिसँग बिगत १७ वर्षदेखि कम्पनीले सहकारी तथा माइक्रोफाइनान्सलाई आवश्यक पर्ने विभिन्न किसिमका सफ्टवेयर निर्माण गर्दै आइरहेको छ।  कम्पनीले मोबाइल बैंकिङ, इन्टरनेट बेंकिङ र ट्याब्लेट बैंकिङमार्फत अनलाइन र अफलाइन ब्रान्चलेस बैंकिङ सेवा र क्रेडिट युनियन, बैंक र माइक्रोफाइनान्सका लागि सोलुसनसमेत प्रदान गर्दै आएको छ। 

कम्पनीले हालसम्म विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ५ भन्दा बढी अवार्ड प्राप्त गरिसकेको छ। इन्फोडेभलपर्स आईएसओ ९००१ः२०१५ सर्टिफाइड आईसीटी कम्पनी पनि हो।