काठमाण्डौ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युरोपेली युनियन (ईयू)सामु नझुक्ने भएका छन्। पुटिनले मंगलबार लिएको नयाँ निर्णयले ईयूका लागि ठूलो झट्का साबित हुने भउको छ। 

पुटिनले आउँदो २०२३ फेब्रुअरी १ देखि तेलको मूल्यमा क्याप लगाउने युरोपेली देशहरुमा तेल निर्यात नगर्ने घोषणा गरेका छन्। यो निर्यात प्रतिबन्ध ५ महिना लगाइने उनले जानकारी दिएका छन्। 

पुटिनको यो निर्णयले युरोपेली देशहरु संकटमा पर्ने देखिन्छ। चिसोको चपेटामा परेको युरोप अहिले ऊर्जा संकटको सामना गरिरहेको छ। अब यो नयाँ घोषणाले युरोपको टाउको दुःखाइ झनै बढाउन सक्छ। 

सात प्रमुख ईयू देश र अस्ट्रेलियाले रुसबाट आउने तेल प्रतिब्यारेल ६० डलरको क्याप लगाउने निर्णय गरेका थिए। रुसी कच्चा तेलमा लगाइएको क्याप डिसेम्बर ५ देखि लागू भएको छ। युक्रेनमा जारी युद्धलाई ध्यानमा राख्दै यो निर्णय लिइएको हो। 

रुसले फेब्रुअरी १ देखि कच्चा तेलको निर्यातमा प्रतिबन्ध लगाउने जनाएको छ। तर, रुसी उत्पादनमा प्रतिबन्ध लगाउने मिति सरकारले तय गर्नेछ। यद्यपि पुटिनले विशेष अवस्थामा केही देशले रुसबाट छुट पाउन सक्ने बताएका छन्। 

रुसी उपप्रधानमन्त्री अलेक्ज्याण्डर नोभाकका अनुसार अब युरोपले रुसबाट आउने कच्चा तेलको विकल्प खोज्न असम्भव छ। उनले भने, ‘ईयूले रुसी तेलमा क्याप लगाएको छ, जुन पूर्णतया गलत हो।’ –एजेन्सी