काठमाण्डौ। नेपाल–चीन संयुक्त उद्यम एअरलाइन्स हिमालय एअरलाइन्सले विभिन्न समाचार तथा सामाजिक सञ्जालमा काठमाण्डौदेखि दमामसम्मको उडानका लागि उच्च हवाई भाडा तथा क्वारेन्टिन सेवा शुल्क लिइरहेको भन्ने समाचार र आरोपहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

हिमालय एअरलाइन्सले आज एक विज्ञप्ति जारी गर्दै अफवाह र आरोपहरूलाई सम्बोधन गर्दै विभिन्न मिडियामा प्रकाशित भएका समाचार तथा रिपोर्टहरू उचित तथ्य र प्रमाणीकरण बिना निराधार छापिएको हो स्पष्ट पारेको छ। ‘नेपाल सरकार र साउदी अरब सरकारले अनिवार्य नियामक निर्देशिका प्रकाशित गरेको थियो, जसमा अपरिहार्य भाडाअन्तर्गत हवाई भाडा, प्रवासमा क्वारनटाइन सुविधा र सम्बन्धित कोभिड–१९ स्वास्थ्य सुविधासहित समावेश गरिएको थियो’, विज्ञप्तिमा भनिएको छ, ‘सोही निर्देशिकाको पालनामा, हाम्रो एअरलाइन्स्ले यस क्षेत्रमा उडानहरू सञ्चालन गर्न सबै आवश्यक सुविधाहरूसहितको बन्डल भाडा सुरु गरेको हो। हाम्रो बन्डल भाडामा पर्नेलगायत खर्चहरु यस प्रकार छन्– एअरलाइन्स आधार भाडा, सबै नियामक करहरू, होटल यातायात र ७ रात होटेल बसोबास शुल्क, (बिहानको खाजा, खान, डिनर सामेल) र दमााम आइपुग्दा गरिने २ पीसीआर परीक्षण सुविधा।’ 

विज्ञप्तिअनुसार साउदी अरब सरकारको निर्देशिकाअनुसार यात्रुहरु स्वयं क्वारेन्टाइनमा बस्ने अनुमति नभएको र त्यहाँको सरकारले तोकेको क्वारेन्टिन होटेलमा बस्नुपर्ने नियम अनिवार्य गरिएको छ। ‘यसका कारण नियमित हवाइ बन्डल भाडाको तुलनामा अहिलेको भाडा अलि महँगो भएको जानकारी दिन चाहन्छौँ’, विज्ञप्तिमा उल्लेख छ, ‘साथै थप स्पष्टीकरणका लागि दमाामका लागि अतिरिक्त होटल क्वारेन्टिन शुल्कले ६०% ओगट्छ भने हवाई भाडाले कुल लागतको ४०% मात्र योगदान गर्दछ भन्ने तथ्य पनि हामी उल्लेख गर्न चाहन्छौँ।’ 

हिमालय एअरलाइन्सले कुनै पनि क्षेत्रका लागि वैध फिर्ती टिकटहरू भएका यात्रुहरूका लागि र निषेधाज्ञाका कारण उडान गर्न असमर्थ भएका यात्रुहरूका लागि टिकटको निःशुल्क पुनः मान्यता सुनिश्चित पनि गर्दै आएको पनि स्पष्ट पारेको छ। ‘हिमालय एअरलाइन्सले यस विषयमा सम्बन्धित सरोकारवालाहरुबाट तथ्यको पूर्व प्रमाणीकरण नगरी जनतामाझ गलत सूचना प्रकाशित गरेकाले मिडिया एजेन्सीहरू र समाचार पोर्टलको ध्यानाकर्षण गर्न चाहन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘अहिलेको सन्दर्भमा मिडिया र समाचार पोर्टलमा गलत समाचार प्रचारप्रसार भइरहेको छ र एअरलाइन्स्ले आमजनतालाई अप्रमाणित स्रोतहरु द्वारा प्रकाशित समाचारहरुबाट सावधान भई हिमालय एअरलाइन्सले प्रकाशित गरेको तथ्य मनन गर्न आग्रह गर्दछ।’

यसका साथै सञ्चार, सूचना र प्रसारण उद्योगको समग्र प्रगतिलाई ध्यानमा राख्दै मिडिया उद्योगलाई बढी सतर्क र संवेदनशील भएर मात्रै  समाचार प्रकाशित गर्न हिमालय एअरलायन्सले अनुरोध गरेको छ। ‘जसले  जनता, कम्पनीहरू र सरकारलाई वर्तमान र भविष्यमा टेवा पुगोस्’, विज्ञप्ति भनिएको छ। 

हिमालय एअरलायन्सले हवाई उडान सुचारु भएपश्चात हाल साउदी अरबको दमाममा दुई साप्ताहिक उडानहरू सञ्चालन गर्दै आइरहेको छ। भर्खरै उडानहरू पुनः सुरु भएपछि, दमाम उडान गर्ने यात्रुहरूको चाप बढेकाले २०२१ जुलाई ११ देखि चार साप्ताहिक उडान सेवा प्रदान गर्दै आइरहेको छ।  

कोरोनाभाइरस संक्रमणको दोस्रो लहर फैलिन थालेपछि गरिएको निषेधाज्ञाअघि हिमालय एअरलाइन्सले २०१७ सेप्टेम्बर १ देखि दमाममा नियमित १० प्रत्यक्ष उडान सेवा प्रदान गर्दै आइरहेको थियो।