काठमाण्डौ । अमेरिकाकी एक शिक्षिकाले कोरोना पोजिटिभ भएको पुष्टि भएपछि उडिरहेको विमानको शौचालयभित्र ५ घन्टा सेल्फ आइसोलेसनमा बस्नु परेको घटना सार्वजनिक भएको छ। उनी आफैँले यस्तो निर्णय गरेकी हुन्। 

यसरी विमानको शौचालयभित्रै सेल्फ आइसोलेसनमा बस्ने अमेरिकी महिला हुन्, मारिसा फोसियो । गत डिसेम्बर २० मा उनी सिकागोबाट आइसल्यान्ड जाने क्रममा विमानमा यात्रा गर्दै थिइन्। विमानभित्रै उनलाई घाँटी दुःख्न थाल्यो। उनले कोभिड परीक्षण किट बोकेकी थिइन् र परीक्षण गरिन्। नतिजा पोजिटिभ आयो। 

त्यसपछि उनले उडिरहेको विमानभित्रै आफूलाई सेल्फ आइसोलेसन राख्ने निर्णय लिइन्। त्यसपछि उनी शौचालयभित्र गएर बाँकी ५ घन्टाको यात्रा पूरा गरिन्। उनलाई फ्लाइट अटेन्डेन्टले खाना र पेयरपदार्थ दिएका थिए।

मारिसाले त्यो क्षण जीवनमा कहिल्यै नभुल्ने बताइन्। ‘विमानभित्र १५० यात्रु थिए, उनीहरुलाई मेरै कारणले संक्रमण त हुने होइन भन्ने डर पनि उत्तिकै थियो’, उनले भनिन्। 

मारिसाले आइसल्यान्डियरको विमानको शौचालयबाटै टिकटक भिडियो पनि पोस्ट गरेकी थिइन्। यो ५ घन्टाको यात्रामा उनलाई फ्लाइट अटेन्डेन्टले पूरै सहयोग गरे। उनलाई आवश्यक परेको हक चिज उनले दिए र बारम्बार स्वास्थ्य अवस्थाका बारेमा सोधे पनि। 
मारिसाका अनुसार आइसल्यान्डमा उत्रेपछि उनी रेड क्रस होटेलमा गएर आइसोलेसनमा बसेकी थिइन्। – एजेन्सी