काठमाण्डौ । नेपाली बजारमा अहिले केरा दर्जनको कति पर्ला ? १००, १२० वा १५० रुपैयाँ ? हामीलाई यी मूल्य पनि महँगो लाग्न सक्छ।

उत्तर कोरियामा भने एक कोशा केराको ६.४ डलर अर्थात नेपाली ७५० रुपैयाँ बढी तिर्नुपर्छ भन्दा आश्चर्य लाग्न सक्छ। यो वास्तविक हो। त्यहाँ हिजोआज एक कोशा केराको दाम ७५० रुपैयाँभन्दा बढी पर्न थालेको छ।

त्यसो त उत्तर कोरियाले केही समययता केराको मात्रै होइन अन्य खाद्यवस्तुको मूल्य पनि आकाशिएको छ। विभिन्न कारणले पर्याप्त अन्न बाली नउब्जिनु र खाद्यान्न आपूर्तिमा समस्या देखिँदा यतिबेला उत्तर कोरियामा चरम भोकमरी सिर्जना भएको छ।

उत्तर कोरियाली नेता किम जोङ उनले पनि पहिलोपटक औपचारिक रुपमा आफ्नो देश भोकमरीको चपेटामा परेको स्वीकार गरेका छन्। आफ्नो पार्टीका वरिष्ठ नेताहरुको बैठकमा किम जोङ उनले भनेका छन्, ‘जनताले खाना खान पाएका छैनन्, स्थिति निकै तनावपूर्ण बनिसकेको छ।’

गत वर्ष आएको आँधीका कारण बाढी आउँदा खेतीयोग्य जमिन बगरमा परिणात भएकै कारण अन्न उब्जनीमा लक्ष्य हासिल गर्न नसकिएको किमले बताएका छन्। त्यही कारण अहिले उत्तर कोरियामा खाद्यवस्तुको भाउले आकाश छोएको छ। 

स्थानीय समाचारका अनुसार अहिले उत्तर कोरियामा केरा प्रतिकिलो ४५ डलर (५ हजार ३४१ रुपैयाँ) सम्म पुगेको छ। ‘यो हिसाबले एक किलो केरामा ७ वटा ठूला कोशासम्म पाउन सकिन्छ। जसले गर्दा एक कोशाको ६.४ डलरसम्म पर्न थालेको छ’, समाचारमा भनिएको छ।

उत्तर कोरियाले कोरोना महामारीबाट बच्नका लागि अन्तर्राष्ट्रिय सीमाहरु बन्द गरेको छ। जसका कारण चीनसँगको व्यापार प्रभावित भएको छ। उत्तर कोरिाय खाद्यवस्तु, मल र इन्धनका लागि चीनमै निर्भर रहने गरेको छ। 

अर्कोतर्फ परमाणु कार्यक्रमका कारण उत्तर कोरियाले अन्तर्राष्ट्रिय प्रतिबन्ध पनि खेप्दै आएको छ। 

गत अप्रिलमा पनि किमले देशमा संकट देखापरेको बताएका थिए। उनले त्यतिबेला आफ्नो जनतालाई राहात दिन फेरि ‘मुस्किल मार्च’ अभियान सुरु गर्ने बताएका थिए। 

‘मुस्किल मार्च’ शब्दको प्रयोग उत्तर कोरियामा ९० को दशकमा पनि प्रयोग गरिएको थियो। त्यतिखेर पनि उत्तर कोरियाली जनता भोकमरीको चपेटामा परेका थिए। उक्त समय सोभियत संघको विघटनपछि उत्तर कोरियालाई सहयोग बन्द गरिएको थियो। 

उक्त भोकमरीको समयमा कतिले अकालमा ज्यान गुमाए भन्ने यकिन तथ्यांक छैन। यद्यपि त्यतिबेला खान नपाएकै कारण ३० लाखको ज्यान गएको अनुमान गरिएको थियो। – एजेन्सी