काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पादनमूलक र निर्यातमूलक क्षेत्रमा लगानी विस्तार गर्न बैंक तथा वित्तीय क्षेत्रको उत्तिकै भूमिका रहने बताएका छन्। 

काठमाण्डौमा आज आयोजित नेपाल व्यवसाय शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो धारणा राखेका हुन्। स्वदेशी उत्पादनमा वृद्धि नहुँदा र उपभोगको संस्कृतिले प्रश्रय पाइरहँदा मुलुक परनिर्भरतातर्फ उन्मुख हुँदै गरेको हो कि भन्ने आभास भइरहेको अवस्थामा समेत अब नेपाल सरकार र बैंक तथा वित्तीय संस्थालगायत समग्र निजी क्षेत्रको सहकार्यमा उत्पादन अभिवृद्धि, रोजगारीका अवसरको सिर्जना, लगानी विस्तार, उद्यमशीलताको विकास एवं विस्तारमा जोडतोडका साथ लाग्नुपर्ने देखिएको उनले बताए। 

प्रधानमन्त्री दाहालले केही समयदेखि बैंक तथा वित्तीय क्षेत्रमा देखापरेका समस्याको समाधानका लागि नेपाल सरकारले आवश्यक कदम उठाइसकेको जानकारी गराए। ‘यस क्षेत्रको सुरक्षा, सुधार र विकासका लागि नेपाल सरकार गम्भीर छ र रहनेछ’, उनले भने, ‘बैंक तथा वित्तीय क्षेत्रले उठाएका विभिन्न मुद्दाको उचित समाधानका लागि समेत आवश्यक पहल हुनेछ भन्ने विश्वास दिलाउन चाहन्छु।’

त्यसैगरी लगानीका लागि आवश्यक पुँजी परिचालन गर्ने कार्यमा पनि बैंक तथा वित्तीय क्षेत्रलाई आवश्यक सहजीकरण गरिने पनि प्रधानमन्त्री दाहालले बताए। 

अर्थतन्त्रमा विगतमा केही समस्या र चुनौती देखापरेको उल्लेख गर्दै दाहालले भने, ‘ती समस्या एवं चुनौतीहरुको स्पष्ट पहिचानसहित दीर्घकालीन समाधान गर्नका लागि हामी आफै सक्षम छौँ। हामी हाम्रै बलबुतामा उल्लेखित समस्या एवं चुनौतीहरुको सामना गर्ने र समाधान गर्न सामथ्र्य राख्छौँ र सक्छौँ । त्यसका लागि नेपाल सरकार, जिम्मेवार निकाय र तपाइँ सम्पूर्ण सरोकारावालाबीच बलियो र घनिष्ट सहकार्य र परस्पर सहयोग जरुरी छ।’