काठमाण्डौ । व्यापारी तथा आफ्नै सदस्यलाई अनेक झमेला पर्दा सो बिषयमा एक शब्द नबोल्ने पशुपति मुरारका नेतृत्वको उद्योग वाणिज्य महासंघभित्र षड्यन्त्र र तिकडमहरुको चाहि कुनै कमी छैन । व्यापारी र व्यवसायीको पक्षमा नबोले पनि मुरारका नेतृत्वको समूह आफ्नो दूनो सोझ्याउने खेलमा भने अनवरत लागि नै रहेको तथ्यहरु सार्वजनिक हुन थालेका छन् । 

वर्षौदेखि उद्योग वाणिज्य महासंघमा राज गर्दै आएको समूहको चलखेलका कारण महासंघभित्रको मतभेद, गुटबन्दी अहिले चरम उत्कर्षमा पुगेको छ । पछिल्लो समय अध्यक्ष पशुपति मुरारका महासंघभित्र षड्यन्त्र गर्ने समूहहरुमा समाहित भएपछि त्यहाँभित्रको टुटफूट अझ बढेर गएको छ । 

स्वार्थ समूहको चलखेलकै कारण योग्य उम्मेद्वारहरुलाई रोक्ने उद्देश्यले महासंघको आगामी नेतृत्वको लागि अहिलेदेखि नै षड्यन्त्रको तानाबाना बुन्न थालिएको तथ्य फेला परेको हो । 

महासंघभित्रकालाई टुटाउन र फुटाउन माहिर पूर्व अध्यक्ष चण्डी ढकालले यसपटकको षड्यन्त्रको पनि नेतृत्व हाँकिरहेका छन् । उनकै योजनामा उद्योग वाणिज्य महासंघभित्र आगामी अधिवेशनदेखि अध्यक्षका लागि स्वस्थ प्रतिस्पर्धा हुन नदिने गरी विधानमै संसोधन गर्ने षड्यन्त्र सुरु भएको छ । 

स्रोतका अनुसार आगामी असार १२ गते धनगढीमा राखिएको कार्यकारिणी समितिको बैठकमा विधान संसोधनको काइते प्रस्ताव आगामी साधारणसभामा टेबल गराउने र त्यसकै आडमा अध्यक्षका राम्रा दाबेदारहरुलाई पाखा लगाएर आफ्ना नजिककालाई स्वतः अध्यक्ष बनाउने खेलमा ढकाल समूह लागेको छ । 

चण्डी ढकाल महासंघको विधान संसोधन समितिको संयोजक छन् । समितिका सदस्यहरुमा सुरज वैद्य बाहेक सबै पूर्व अध्यक्षहरु सदस्य छन् । तर उनको एकल तजविजीले मात्र विधान संसोधनको एजेण्डा कार्यकारिणी बैठकमा पेश गर्न मिल्दैन । तर ढकालले यी प्रावधानहरुको समेत खिल्ली उडाउँदै विधान संसोधन समिति, आनन्दराज मुल्मीको संयोजकत्वमा रहेको सल्लाहकार समिति तथा पदाधिकारी बैठकमा समेत कुनै छलफल नै नगराई एकल निर्णयको आधारमा विधान संसोधनको प्रस्ताव असार १२ गतेको बैठकमा पठाएका छन् । विधान संसोधनको प्रस्तावलाई साधारणसभासम्म लिएर जाने हैसियत राख्ने महत्वपूर्ण बैठक पूर्व योजना अनुसार नै धनगढीमा राखिएको छ । धनगढीमा बैठक राख्दा कार्यकारिणी समितिका धेरै उपस्थित नहुने र आफ्ना गुटकालाई जसरी भए पनि उपस्थित हुन उर्दी जारी गरी चोर बाटोबाट विधान संसोधनको प्रस्तावलाई मार्गप्रशस्त गर्ने खेल सुरु भएको देखिएको छ । 

के हो ढकालको ग्राण्ड डिजाइन ?
महासंघको निर्वाचनमा विजयी भई अध्यक्षको पद सम्हालेका प्रदीपजंग पाण्डे पुरानो मुद्धा ब्यूँतिएका कारण पदच्यूत भएपछि वरिष्ठ उपाध्यक्ष पशुपति मुरारकालाई सबैको सहमतिमा महासंघ अध्यक्ष बनाइएको थियो । अध्यक्ष बन्न मार्गप्रशस्त गर्ने सुरज वैद्य समूहसँग मुरारको अहिले पानी बाराबारको अवस्था छ । यसको एक मात्र कारण, मुरारकाले आफ्नै हितैषीहरुलाई धोका दिनु रहेको स्रोत दाबी गर्छ । उनी पछिल्लो समय चण्डी ढकाल समूहको गोटी बनेको धेरैको बुझाई छ ।  

मुरारका अध्यक्ष भएपछि महासंघको नेतृत्व इतिहासमै कमजोर साबित मात्र भएन, उनी र उनलाई प्रयोग गर्न सक्नेहरुले षड्यन्त्रहरुलाई समेत मलजल गरेर राखेका स्रोतहरु बताउँछन् । भूकम्प, नाकाबन्दी र त्यसपछिका अप्ठ्यारा अवस्थाहरुमा मुरारकाको नेतृत्व निकै कमजोर साबित भइसकेको छ । व्यापारी र व्यवसायीहरुको छाता संगठन भनिए पनि महासंघको भूमिका कमजोर भएका कारण अन्य काठमाण्डौ केन्द्रीत उद्योगी  व्यापारीका संगठनले प्रभावकारी भूमिकामा प्रस्तुत भएका थिए । महासंघ इतिहासकै कमजोर भए पनि आफ्नो भूमिका प्रभावकारी बनाउनतिर नलागेर मुरारका षड्यन्त्रको गोटी बनिरहेका महासंघका कार्यकारिणी सदस्यहरुको आरोप छ । 

स्रोतका अनुसार मुरारकालाई अध्यक्ष बनाउने बेलामै भवानी राणा, शेखर गोल्छा र मुरारकाबीच एउटा गोप्य सहमति गराउने भूमिका चण्डीराज ढकाल र रविभक्त श्रेष्ठको नेतृत्वमा भएको थियो । 

वरिष्ठ उपाध्यक्षलाई स्वत अध्यक्ष बनाउने गरी योजनाबद्ध ढंगले बनेको विधान संसोधन प्रस्ताव । 

त्यसबेला राणा र गोल्छाले मुरारकालाई अध्यक्ष हुन सहयोग गर्ने र विधान संसोधन गरेर वरिष्ठ उपाध्यक्ष महासंघको स्वतः अध्यक्ष हुने व्यवस्था गरी सोही अनुसार मुरारका पछिको अध्यक्ष भवानी राणालाई र राणापछिको अध्यक्ष गोल्छालाई बनाउने सहमति भएको थियो । सोही सहमति कार्यान्वयनका लागि ढकाल र श्रेष्ठ नेतृत्वको समूहले अहिले गोटी चालेको हो । तर बहुसंख्यक सदस्यहरु विधान संसोधन गरेर तानाशाही ढंगले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था पास नहुन दिने पक्षमा छन् । 

धनगढी बैठकमा ढकाल समूहले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुन पाउने व्यवस्था पारित गर्ने गरी विधान संसोधनको प्रस्ताव लग्नेछ । यसको एक मात्र उद्देश्य आगामी अधिवेशनमा स्वस्थ प्रतिस्पर्धा हुन नदिने र हालकी वरिष्ठ उपाध्यक्ष भवानी राणालाई अध्यक्ष बनाउने देखिएको छ । ‘पूर्व सहमति अनुसार भवानीलाई स्वतः अध्यक्ष बनाउने र वरिष्ठ उपाध्यक्षमा गोल्छालाई लैजाने खेल भएको छ ।’ महासंघका एक अधिकारीले भने–‘तर हामी यो प्रस्ताव पारित हुन दिंदैनौ, लोकतन्त्रमा स्वस्थ प्रतिस्पर्धाबाट भागी कसैलाई अध्यक्ष बनाउनका लागि विधानलाई लंगडो बनाइनु गलत हो ।’ 

कार्यकारिणी समितिमा एजेण्डाको रुपमा पठाइएको विधान संसोधन प्रस्तावको २७ नम्बर दफाको ‘साधारणसभाको काम कर्तव्य तथा अधिकार’ शीर्षकको २७.१(च) उपदफामा हालको व्यवस्थामा ‘महासंघको अध्यक्ष, उपाध्यक्ष तथा कार्यकारिणी समितिका सदस्यहरुको निर्वाचन गर्ने’ भन्ने छ । निकै चलाख्याईपूर्वक सो व्यवस्थालाई अब ‘महासंघको वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु तथा कार्यकारिणी समितिका सदस्यहरुको निर्वाचन गराउने’ भनेर संसोधन राखिएको छ । 

यसैगरी, महासंघको अबको संरचना प्रादेशिक बन्नुपर्ने जिकिर गर्दै ढकालले संसोधन प्रस्ताव पेश गर्दैछन् । राज्यको प्रदेशहरुको सीमांकनको बिषय टुंगो नलागिसकेको अवस्थामा अहिले नै प्रादेशिक संरचना बनाइनु खासै अर्थपूर्ण नहुने एकथरि सदस्यहरुको तर्क छ । 

उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले विधान संसोधनको प्रस्ताव कार्यकारिणी समितिमा पेश हुने निश्चित भएको उल्लेख गर्दै मुलुक संघीयतामा गइसकेकोले महासंघको विधान संसोधन आवश्यक भएको दाबी गरे । उनले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने भन्ने प्रस्ताव पनि पेश भएको स्वीकार गर्दै भने–‘विधान संसोधन समितिले कार्यकारिणी समितिमा पेश गर्छ र त्यो प्रस्तावलाई बैठकले अगाडि बढाउने वा नबढाउने निर्णय गर्छ । प्रस्ताव अगाडि बढाउँदा पनि साधारणसभामा उपस्थित साधारण सदस्यहरुले चाहेमा मात्र विधान संसोधन हुन्छ, त्यही भएर अहिले नै अत्तालिनुपर्ने अवस्था छैन ।’ विधान संसोधन गरी भवानीलाई अबको अध्यक्ष स्वतः बनाउने र त्यसपछि शेखर गोल्छालाई वरिष्ठ बनाई भवानीपछि अध्यक्ष बनाउने योजना बनेको बिषयमा उनले बोल्न चाहेनन् ।