काठमाण्डौ । नेपालमै बसेर एकैरातमा २० लाख रुपैयाँ आम्दानी भएको तपाईले कहिले कल्पना गर्नुभएको छ ? सामान्य मानिसका लागि यो कल्पना भन्दा बाहिरको कुरा भयो । सर्वसाधारणका लागि अकल्पनीय बन्ने यही संयोग केही उद्योगी व्यवसायीलाई भने जुरेको छ । उनीहरुले केही भोटसँग सोमबार रातभरिको कसरतपछि २० लाख रुपैयाँसम्म साटेका छन् । 

सन्दर्भ हो नेपाल उद्योग वाणिज्य महासंघको अधिवेशनको  । महासंघको अधिवेशनका लागि वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र कार्यकारिणी सदस्य पदका लागि मंगलबार बिहानैदेखि मतदान सुरु भएको छ । तर, मतदानमा जानुुअघि वरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार शेखर गोल्छा र किशोर प्रधान समूहसँगै मोटो रकम लिएर केही व्यवसायी रातारात मालामाल भइसकेका थिए । गफ दिएकै भरमा लाखौं नगद आर्जन भएसँगै यो पटक पनि अन्य वर्ष झै उद्योग वाणिज्य महासंघको निर्वाचनमा पैसा नै निर्णायक हुने देखिएको छ । बिक्न तयार उद्योगी व्यवसायीलाई पैसा दिएर आफ्नो पक्षमा तानातान गर्ने रस्साकस्सी दुवै समूहबीच सोमबार रातभरि चल्यो । दुवै समूहको नगदसहितको प्रयास तथा दौडधूपका कारण सोमबार रातभर नगरकोटको रत्नागिरी होटल, छैमले रिसोर्ट, गौशालाको आमादब्लम होटल, अनुपम फूडल्याण्ड, परेली पार्टी प्यालेस जागै रहे । यी अड्डाहरुमै रातभर मतदान गर्न आएका उद्योगी व्यवसायी भेडाबाख्रा झै बेचिए, किन्नेले मोल लगाई लगाई किने । करिब २५ जिल्लाका जिल्ला तथा नगर उद्योग वाणिज्य संघका अध्यक्ष तथा प्रतिनिधिले दोहोरो फाइदा लुटेका स्रोतले बताएको छ । 

''दुवै पक्षसँग हामी तपाईकै मान्छे हौ भन्दै पैसा लिनेहरु धेरै देखिए ।'' एक उद्योगीले भने-''२५ जिल्लाका अध्यक्षहरुले मात्र जनही २० लाख भन्दा बढी कमाए । जिल्ला तथा नगरका अन्य प्रतिनिधिहरुको गोजीमा समेत उपहारको रुपमा लाखौं नगद भित्रियो ।'' पैसावाल तथा धनाढ्यहरुको संगठन उद्योग वाणिज्य महासंघको निर्वाचनमा रातभरि पैसा, रक्सीकै रामरमिता चलेको ती उद्योगीले बताए । उनका अनुसार दुवै पक्षले जिल्ला तथा नगरबाट आएका प्रतिनिधिहरुलाई रातभरि भोज खुवाएसँगै यौन व्यवसायमा संलग्न युवतीहरुको टिम नै तयार गरिदिएका थिए ।

मतदाताहरुलाई पैसा बाँड्ने कार्यमा गोल्छा समूह निकै आक्रामक भएको थियो । पैसामा मत किन्न सकिने बुुझेको प्रधान समूहले पनि राम्रै रकम भेला पारी बाँडेको थियो । गोल्छाले त जिल्ला तथा नगरका कतिपय अध्यक्षलाई २० लाखसम्म बाँडेका थिए । किशोर प्रधान समूहकै भित्रियाहरु समेत गोल्छा क्याम्पमा पुुगेर पैसा समातेका थिए । प्रधान समूहका कतिपय नेताले उनीहरुलाई ‘उताबाट पनि लक्ष्मी ग्रहण गर्नु अनि बोनस लिन चाहि यता आउनु’ भन्दै उक्साएका देखिन्थ्यो । 

उद्योग वाणिज्य महासंघको विधान संसोधन गरी वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने नयाँ व्यवस्था भएपछि नेतृत्वका लागि मतदान भएको हो । विधान संसोधनका कारण अब नयाँ समिति चयनसँगै वर्तमान वरिष्ठ उपाध्यक्ष भवानी राणा महासंघको स्वतः अध्यक्ष बन्नेछिन् भने मतदानबाट छानिएका वरिष्ठ उपाध्यक्ष राणापछिको कार्यकालका लागि अध्यक्ष बन्नेछन् । 

भावी नेतृत्वको लागि चुनाव भइरहँदा भवानी राणा चाहि निकै भाग्यमानी बन्न सफल भएकी छिन् । उनैका लागि केही उद्योगीको जोडबलमा विधान संसोधन गरिएसँगै उनलाई महासंघको बागडोर अपुतालीको रुपमा प्राप्त भएको छ भने उद्योगी व्यवसायीको छाता संगठनलाई हाँक्ने पहिलो महिला अध्यक्ष समेत बन्न सफल भएकी छिन् । उनले यो चुनावमा शेखर गोल्छा समूहलाई आफ्नो टिम भन्दै प्रचार प्रसार गरेकी थिइन, यो बिषयमा किशोर प्रधान समूहले आपत्ति जनाउँदै राणामाथि नै कारबाही गर्नुपर्ने माग उठाएका थियो । तर यो माग चुनावी माहौलमा त्यसै हरायो । 

कसले जित्ला ?
रातभरि पैसाको खोलो बगेकोले मतदाताहरु कसरी परिचालित भए भन्ने कुरा बुुझ्न दुवै समूहलाई कठीन भएको छ । तर, वरिष्ठ उपाध्यक्षमा आफ्नै समूहका मतदाताले समेत किशोर प्रधानलाई भोट नहाल्ने हाँकाहाँकी बताइरहेको दृश्य अनुुगमनको क्रममा देखिएका कारण उनले जित्ने संभावना न्यून बनेको छ । उद्योग वाणिज्य महासंघको कुल मतदातामध्ये जिल्ला तथा नगरको ५० प्रतिशत हिस्सा हुन्छ । जिल्ला नगर उपाध्यक्षमा प्रमोद श्रेष्ठले दुुई तिहाईले जित्ने संभावना भए पनि श्रेष्ठकै क्याम्पका वरिष्ठ उपाध्यक्ष प्रधानलाई मत नदिनेहरु निकै रहेका देखिएको छ । तर, रातभरिको पैसाको खेलले यो संभावनालाई उल्टाइदिन वा अरु कुनै दिशा दिन समेत सक्ने स्रोतहरुको बुुझाई छ । 

प्रधान समूहले आफूहरु जिल्ला तथा वस्तुुगतमा निकै अगाडि रहेको र शेखर गोल्छाको राम्रो रहेको एशोसिएटको मत तान्न सकिने भन्दै रातभरि कसरत गरेको थियो । एशोसिएटको कुल मतमध्ये २५० मात्र आफ्नो पक्षमा आयो भने पनि चुनाव जित्ने प्रधान समूहको निश्कर्ष छ । 

तर गोल्छा समूह भने प्रधान समूहलाई एशोसिएटबाट ५० मत पनि नगएको दाबी गर्छ । यो दाबी सही ठहरियो भने प्रधानले पराजय व्यहार्ने निश्चित छ । 

वरिष्ठ उपाध्यक्षमा प्रधानको अवस्था गोल्छाको भन्दा केही कमजोर भए पनि जिल्ला नगर तथा वस्तुुतर्फको उपाध्यक्षमा भने प्रधान समूह नै बलियो छ । यो समूहबाट जिल्ला नगरतर्फ उपाध्यक्षमा प्रमोद श्रेष्ठ र वस्तुुगत उपाध्यक्ष शंकर पाण्डे उठेका छन् । उनीहरु दुवैले जित्ने अधिक संभावना छ । प्रमोद श्रेष्ठले आफ्नो प्रत्यासी दिनेश श्रेष्ठलाई ६० ४० को अन्तरमा र पाण्डेले ५५ ४५ को अन्तरमा जित्ने देखिएको छ । 

एशोसिएट उपाध्यक्षमा भने युवा व्यवसायी चन्द्र ढकाल निर्विरोध भइसकेका छन् । एशोसिएटतर्फका सबै(१९) सदस्य निर्विरोध गर्ने प्रयास भए पनि अन्तिम समयसम्म २२ जनाको उम्मेद्वारी परेपछि यहाँ पनि मतदानकै प्रक्रिया अवलम्बन गरिएको छ । 

जिल्लानगर, एशोसिएट र वस्तुुगततर्फका सदस्यहरुमा भने व्यक्तित्व, उम्मेद्वारको सम्पर्क तथा प्रतिष्ठाले समेत महत्वपूर्ण भूमिका खेल्न देखिन्छ । सदस्यहरुतर्फ पनि मिश्रित परिणाम आउने देखिएको छ । 

वस्तुुगत सदस्यमा १४ पदका लागि २७ जना, जिल्ला तथा नगर सदस्यमा १८ पदका लागि २८ जनाले उम्मेद्वारी दिएका छन् ।