काठमाण्डौ । गुणस्तरीय पूर्वाधार निर्माण, विधिको शासन बहाल, बैदेशिक लगानी आकर्षण र लगानीमैत्री वातावरणको सिर्जना लगायतका काम नभएसम्म कुल ग्राहस्थ उत्पादनमा औद्योगिक क्षेत्रको हिस्सा नबढ्ने उद्योगी व्यवसायीले बताएका छन् । 

नेपाल उद्योग परिसंघको एक प्रतिनिधि मण्डलले बुधबार नवनियुक्त उद्योगमन्त्री सुनिलबहादुर थापासँगको भेटमा त्यस्तो धारणा राखेको हो । 

सो अवसरमा परिसंघका अध्यक्ष हरिभक्त शर्माले सरकारी प्रयास बिना औद्योगिक वातावरण नबन्ने र त्यस्तो वातावरण नबनेसम्म मुलुकले आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न नसक्ने बताए । शर्माले बैँकिङ्ग क्षेत्रको चर्को व्याजदर, श्रमशक्तिको अभाव, पुराना ऐन कानूनका अव्यवहारिक प्रावधान, जग्गाको चर्को मूल्य आदि कारणले यस क्षेत्रको वृद्धिदर न्यून हुन गएको बताउँदै ती समस्याको समाधान गर्न मन्त्री थापाको ध्यानाकर्षण गराए । 

सो अवसरमा उद्योग सचिव शंकर कोइरालाले विगत एक वर्ष देखि उद्योग मन्त्रालयले नेपालको निजी क्षेत्रसँग निरन्तर सहकार्य गरिरहेको र निजी क्षेत्रले भोग्नु परेको समस्याको समाधान गर्ने प्रयास भइरहेको बताए । हाल परिवर्तन भइरहेका ऐन नियमहरु परिमार्जन गर्न निजी क्षेत्रलाई समेत सहभागी गराएको जनाउँदै अझै परिमार्जन गर्नु पर्ने ऐन नियमहरुका विषयमा समेत निजी क्षेत्रको सहभागिता रहने आश्वासन दिए । परिसंघले विगतदेखि उठाउँदै आएको औद्योगिक एक्सलेन्स सेन्टर संचालनको मागप्रति सरकार सकारात्मक रहेको उनले बताए । 

मन्त्री थापाले हालको चुनौति नीतिगत सुधार रहेकाले यसलाई प्राथमिकतामा राखेर अघि बढ्ने र यसका लागि निजी क्षेत्रले समेत महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । हाल निजी क्षेत्रले भोग्नु परेका समस्याहरुलाई विद्यमान नीतिगत व्यवस्थाभित्र रहेर तत्काल सम्बोधन गरिने र दीर्घकालिन महत्वका विषयलाई क्रमशः नीतिगत तहबाट हल गर्दै लैजाने विश्वास दिलाए । मन्त्री थापाले स्वच्छ औद्योगिक वातावरण सृजना गर्न क्रियाशील रहेको परिसंघ तथा निजी क्षेत्रसँग आपसी सहकार्य गरेर नै आफू अघि बढ्ने कुरामा ढुक्क हुन प्रतिनिधि मण्डललाई आश्वस्त पारेका थिए ।