काठमाण्डौ। नेपाल उद्योग परिसंघको १९औँ वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ। 

प्रधानमन्त्री शेरबहादुर देउवाबाट उद्घाटित साधारणसभामा उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्रप्रसाद बडू, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, राज्यमन्त्री उमेश श्रेष्ठ, परिसंघका अध्यक्ष एमिरेट्स सांसद विनोद चौधरीलगायत प्रतिष्ठित, उच्च सरकारी अधिकारीहरु, प्रतिष्ठित उद्योगी व्यवसायीहरुलगायत सहभागिता थियो। 

परिसंघले तयार गरेको चालु आर्थिक वर्षको बजेटमा समावेश भएका विषयवस्तुहरुको प्रभावकारी कार्यान्वयन गर्न बजेट कार्यान्वयन योजना प्रधानमन्त्रीबाट सार्वजनिक गरिएको छ। 

साधारणसभामा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले परिसंघले सन् २०२१ देखि नेपाल सरकारसँगको साझेदारीमा ‘मेक इन नेपाल–स्वदेशी’ बहुवर्षीय अभियान सञ्चालन गरिरहेको जानकारी गराए। 

घरेलु औद्योगिक उत्पादन वृद्धि गरी नेपाली वस्तु तथा सेवाको पहुँच राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा पुर्याउने यस अभियानको मुख्य लक्ष्य रहेको पनि अग्रवालले बताए। ‘परिसंघले यसै उद्देश्य प्राप्तिका लागि भर्खरै मेक इन नेपाल सम्मेलन सम्पन्न गर्यो । वस्तु र सेवाहरूको उच्च गुणस्तर एवं उचित मूल्यको मानांक कायम गर्न छुट्टै स्वदेशी लोगो प्रयोगमा ल्याइएको छ ’, उनले भने। 

स्वदेशी अभियानमा जोडिएका उद्योगहरूका लागि नीतिगत वकालत गर्ने, नेटवर्किङ र बजारीकरणमा सहयोग गर्ने, स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने, कामदारहरुको सीप अभिवृद्धि गर्नेजस्ता काममा परिसंघले सहयोग गर्दै आएको अग्रवालले बताए। ‘परिसंघले यस अभियानमार्फत निश्चित अवधिमा निम्न उपलब्धि हासिल गर्ने लक्ष्य राखेको पुनः स्मरण गराउन चाहन्छु’, उनले भने।

साधारणसभामा परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्मा सीएनआई प्रेसिडेन्टस् अवार्डबाट सम्मानित भएका छन्। 

परिसंघले निर्यात प्रवर्द्धनमा योगदान पुर्याएबापत गणपति बनस्पती र रिलाइन्स स्पिनिङ मिल्सलाई सीएनआई एक्सपोर्ट अवार्डबाट सम्मान गरेको छ। 

त्यस्तै कार्यक्रममा परिसंघको राष्ट्रिय परिषद् सदस्य छायाँ शर्मा, परिसंघको राजश्व समिति, परिसंघ प्रदेश नम्बर एक तथा परिसंघको युवा उद्यमी मञ्चलाई समेत सम्मान गरिएको थियो।