काठमाण्डौ । काठमाण्डौ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको बैठक आज मंगलबार दिउँसो बस्ने भएको छ। 

सीडीओहरुको बैठक दिउँसो ४ बजे काठमाण्डौ जिल्ला प्रशासन कार्यालयमा बस्नेछ। बैठकमा पछिल्लो समय थप गरिएको निषेधाज्ञाको समीक्षा गरिनेछ। पछिल्लो समय थप गरिएको निषेधाज्ञाको अवधि आज राति १२ बजेटबाट सकिँदैछ।

सीडीओहरुको बैठकले निषेधाज्ञा थप खुकुलो पार्दै लम्ब्याउने निर्णय गर्न सक्ने काठमाण्डौ प्रशासन स्रोत बताउँछ। ‘कोरोना संक्रमण बढिरहेकाले सीडीओहरुको बैठकले निषेधाज्ञालाई निरन्तरता दिन सक्छ’, स्रोतले भन्यो, ‘फिल्म हल, जिमखानालगायतका केही क्षेत्र खोल्न दिने विषयमा छलफल हुन सक्छ।’

हाल उपत्यकामा सबै खाले सवारीसाधन चल्न दिइएको छ। खाद्यान्न, इलेक्ट्रोनिक्स, फेन्सीजस्ता पसलहरु पनि साँझ ७ बजेसम्म खोल्न दिइएको छ।  

उपत्यकाभित्र रात्रि क्लब, पार्टी प्यालेस, होटेल, रेस्टुरेन्ट भने खोल्न दिइएको छैन। शिक्षण संस्थाहरु पनि बन्द नै छन्। विद्यालय र विश्वविद्यालय तथा विभिन्न आयोगले सार्वजनिक गरेका परीक्षा कार्यक्रम स्वास्थ्य मापदण्ड कडाइ साथ पालना गरी सञ्चालन गर्न अनुमति दिइएको छ।