काठमाण्डौ । पछिल्लो २४ घन्टामा देशभर हालसम्मकै धेरै संक्रमित फेला परेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार देशभर थप ७ हजार ४४८ जनामा कोरोना पुष्टि भएको छ। १६ हजार ६५८ जनाको आरटी–पीसीआर परीक्षण गर्दा ७ हजार ३८८ जना र ५१८ जनाको एन्टिजेन परीक्षण गर्दा ६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै हालसम्म देशमा कोरोना संक्रमितको संख्या ३ लाख ४३ हजार ४१८ पुगेको छ। 

पछिल्लो २४ घन्टामा काठमाण्डौ उपत्यकामा मात्रै ३ हजार ६६६ जनामा कोरोना पुष्टि भएको छ। जसमा काठमाण्डौका मात्रै २ हजार ९२२ जना, ललितपुरका ५२२ जना र भक्तपुरका २२२ जना छन्। यो संख्या हिजोको तुलनामा बढी हो। हिजो उपत्यकामा ३ हजार ५९५ जनामा कोरोना पुष्टि भएको थियो।

यो अवधिमा २ हजार २१ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या२ लाख ८६ हजार १५ पुगेको छ। हाल मुलुकभर ५४ हजार ४१ जना सक्रिय संक्रमित छन्। 

पछिल्लो २४ घन्टामा थप ३७ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ३ हजार ३६२ पुगेको छ।