काठमाण्डौ । विभिन्न शैक्षिक तथा आयोगबाट सञ्चालन हुन लागेका परीक्षालाई मध्यनजर गर्दै काठमाण्डौ जिल्ला प्रशासन कार्यालयले उपत्यकाका सम्पूर्ण यातायात व्यवसायीलाई सरकारले तोकेको जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गरी मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालनको व्यवस्था मिलाउन आग्रह गरेको छ।

गत साउन ४ गतेको मन्त्रिपरिषदको निर्णयअनुसार काठमाण्डौ प्रशासनले यातायात व्यवसायीहरुलाई यस्तो आग्रह गरेको छ। मन्त्रिपरिषद्को निर्णयसँगै गृह मन्त्रालयले गत साउन ५ गतेबाट सबै जिल्ला प्रशासन कार्यालयहरुलाई पत्राचार गर्दै परीक्षार्थीहरुको  आवागमन सहज पार्न भन्दै मध्यम तथा लामो दूरीको यातायात सञ्चालन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको थियो। 

गृह मन्त्रालयको सोही निर्देशनलाई कार्यान्वयन गर्दै काठमाण्डौ प्रशासनले यातायात व्यवसायीहरुलाई सार्वजनिक यातायात सञ्चालनको व्यवस्था मिलाउन आग्रह गरेको हो। 

त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय परीक्षा बोर्ड र लोकसेवा आयोगले परीक्षाका कार्यक्रमहरु सार्वजनिक गरेका छन्। जसका कारण कोभिड संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञाका कारण परीक्षा हुन नसक्दा थुप्रै परीक्षार्थीहरुले उपत्यका छाडेका छन्। 

त्यस्ता परीक्षार्थीहरुलाई परीक्षामा सहभागी हुनका लागि सहज आवागमनको व्यवस्था गर्न सरकारले मध्यम तथा छोटो दूरीको यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो।