काठमाण्डौ । काठमाण्डौ उपत्यकामा निषेधाज्ञा थप १० दिन लम्ब्याउने निर्णय भएको छ। 

आज जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा बसेको उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीईओ) हरुको बैठकले सोमबारदेखि लागू हुने गरी निषेधाज्ञा थप १० दिन थप्ने निर्णय गरेको हो। थप गरिएको निषेधाज्ञा अवधिमा यसअघिकै आदेशहरू यथावत राख्ने निर्णय सीडीओहरुको बैठकले गरेको छ। 

गत साउन १ गतेबाट जारी निषेधाज्ञा आइतबार राति १२ बजेबाट सकिँदैछ। थप गरिएको निषेधाज्ञामा यसअघिकै जस्तै सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस र क्लबमा भीडभाड हुने कार्यक्रम सञ्चालन नपाउने निर्णय भएको छ। 

सार्वजनिक तथा खुला स्थानमा मानिस भेला तथा जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सवलगायतमा गरिएको बन्देज पनि यथावत नै राखिएको छ। शैक्षिक संस्थाहरु भौतिक उपस्थितिमा पठनपाठन गर्न अनुमति दिइएको छैन। 

औषधि तथा स्वास्थ्य सामाग्रीका पसलबाहेक अरू पसल तथा व्यवसाय साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने यसअघिकै निर्णय यथावत राखिएको छ। रेस्टुराँ तथा फास्ट फुडहरुबाट टेक अवेका सेवा साँझ ७ बजेसम्ममात्रै सञ्चालन गर्न पाइने निर्णय भएको छ।