काठमाण्डौ । अघिल्लो महिना बढेको महङ्गी चालु आर्थिक वर्षको चौथो महिनामा केही घटेको रिपोर्ट सार्वजनिक भएको छ । 

नेपाल राष्ट्रबैंकले चालु आबको पहिलो चार महिनाको समीक्षा सार्वजनिक गर्दै यस्तो देखाएको हो । 

२०७५ कात्तिक महिनामा वार्षिक बिन्दूगत आधारमा उपभोक्ता मुद्रास्फीति ४.२ प्रतिशत रहेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ३.९ प्रतिशत रहेको थियो । अघिल्लो वर्षको सोही अवधिको तुलनामा मुद्रा स्फिति बढेको भए पनि असोज महिनाको तुलनामा घटेको हो । 

असोजमा उपभोक्ता मुद्रास्फिति ४.७ प्रतिशत रहेको थियो । 

केन्द्रीय बैंकका अनुसार खाद्य तथा खाद्यजन्य पदार्थ, यातायात, घरायसी सेवा तथा उपयोगिता र लत्ताकपडा आदिको मूल्य बढेका कारण समीक्षा अवधिमा समग्र मुद्रास्फीति केही बढ्न गएको हो ।

२०७५ कात्तिक महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त समूहको मुद्रास्फीति २.३ प्रतिशत रहेको थियो। यो समूहतर्फको मुद्रास्फिति असोजसम्म ३.४ प्रतिशत थियो। 

समीक्षा अवधिमा दाल तथा गेडागुडी, चिनी तथा चिनीजन्य पदार्थ, तरकारी उप–समूहका वस्तुहरुको मूल्य घटेका कारण समग्र खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति न्यून रहेको हो । 

समीक्षा अवधिमा गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्रास्फीति ५.१ प्रतिशत रहेको थियो । असोज महिनामा यो समूहको मुद्रास्फिति दर ५.७ प्रतिशत थियो । यस समूह अन्तर्गत यातायात, फर्निसिङ तथा घरायसी उपकरण, घरायसी सेवा तथा उपयोगिता लगायतका उप–समूहका वस्तु तथा सेवाहरुको मूल्यमा वृद्धि भएकोले समग्र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति बढ्न गएको हो ।

कुन क्षेत्र कति महङ्गो ?
क्षेत्रगत उपभोक्ता मुद्रास्फीति २०७५ कात्तिक महिनामा उपभोक्ता मुद्रास्फीति हिमालमा ४.६ प्रतिशत, काठमाडौं उपत्यकामा ४.५ प्रतिशत, पहाडमा ४.३ प्रतिशत र तराईमा ३.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति क्रमशः ५.४ प्रतिशत, ३.२ प्रतिशत, ४.७ प्रतिशत र ३.७ प्रतिशत रहेको थियो ।

असोज महिनामा उपभोक्ता मुद्रास्फीति पहाडमा ६.१ प्रतिशत, तराईमा ४.३ प्रतिशत, हिमालमा ४.२ प्रतिशत र काठमाडौं उपत्यकामा ४.० प्रतिशत रहेको थियो ।