काठमाण्डौ । भारतको केन्द्रीय बैंक रिजर्ब बैंक अफ इण्डिया(आरबिआई)का डेपुटी गभर्नर उर्जित पटेल नयाँ गभर्नर बनेका छन् । 

तत्कालीन गभर्नर रघुराम राजनको कार्यकाल सकिएपछि चम्कदै गएको भारतीय अर्थतन्त्रलाई अझ माथि लैजाने महत्वपूर्ण जिम्मेवारीको बोझ बोक्ने आरबीआईको संभावित गभर्नरको बिषय राष्ट्रिय अन्तराष्ट्रिय रुपमै चर्चाको बिषय बनेको थियो । 

भारत सरकारले शनिवार साँझ आफ्नो केन्द्रीय बैंकको २४ औं नयाँ गभर्नरको रुपमा पटेलको नाम घोषणा गरेको हो । 

अहिलेको गभर्नर रघुराम राजनको कार्यकाल आगामी सेप्टेम्बर १ मा सकिँदैछ । त्यसपछि भारतीय केन्द्रीय बैंकको बागडोर पटेलले सम्हाल्ने छन् । 

भारतीय मिडियाहरुका अनुसार उर्जित पटेल सन् २०११, जनवरी ११ देखि रिजर्ब बैंकको डेपुटी गभर्नरको रुपमा कार्यरत छन् । उनलाई सरकारले आगामी तीन वर्षसम्मका लागि आरबीआईको गभर्नर पदमा नियुक्ति दिने निर्णय गरेको हो । 

भारतको केन्द्रीय बैंक आरबीआईको गभर्नरको पद निकै आकर्षक र महत्वपूर्ण मानिन्छ । कारण त्यहाँ हरेक दुई–दुई महिनामा केन्द्रीय बैंकले सुधारसहितको मौद्रिक नीति सार्वजनिक गर्नुपर्छ । गभर्नरको क्षमता, दूरदर्शिताले राम्रो मौद्रिक नीति आउने र त्यसले समग्र देशको अर्थतन्त्रलाई माथि उकास्ने विश्लेषकहरु बताउँछन् । सरकारले पटेलमा सोही संभावना देखेर नियुक्त गरेको बताएको छ । 

आरबीआईको नयाँ गभर्नरको रुपमा नियुक्त ५२ वर्षीय पटेल लण्डन स्कूल अफ इकोनोमिक्सका ग्राजुएट हुन् । उनले यसअघि आइएमएफ(इन्टरनेशनल मनिटरी फण्ड) र प्रतिष्ठित बोस्टन कन्सल्टिङ समूहसँग समेत आबद्ध भइसकेका छन् । 

हाल आरबीआईको डेपुटी गभर्नरको रुपमा उनको जिम्मेवारी हरेक २ महिनामा आउने मौद्रिक नीतिमा रहेर काम गर्नु रहेको छ । यस्तै, केन्द्रीय बैंकले हेर्ने आर्थिक पोलिसीको रिसर्च, डिपोजिट इन्स्योरेन्स, आरटीआई जस्ता निकै महत्वपूर्ण बिषयसँग सम्बन्धित विभागको समेत नेतृत्व गर्दै आएका छन् । 

मुद्रास्फिति नियन्त्रणमा महत्वपूर्ण भूमिका
सरकार र आरबीआईको संयोजनमा आउने मौद्रिक नीति र त्यसमार्फत मुद्रा स्फिति नियन्त्रणका लागि यसअघि आएका सफल नीतिहरु निर्माणमा पटेलको महत्वपूर्ण भूमिका रहँदै आएको छ । सन् २०१४, जनवरीमा उनको नेतृत्वमा बनेको एक टिमले कन्ज्यूमर प्राइस इण्डेक्समा फोकस हुनुपर्ने आवश्यकता औंल्याउँदै सोही किसिमको सिफारिस गरेको थियो । यस बाहेक सो टिमले मुद्रा स्फितिलाई ४ प्रतिशतको सीमाभित्र राख्नुपर्ने सुझाव दिएको थियो । यही आधारमा अहिलेको सरकारले मुद्रास्फितिलाई ४ प्रतिशतको सीमाभन्दा माथि जान नदिने नीति लिएको छ । 

राजनका निकट
सन् २०१३ मा उर्जित पटेलले केन्द्रीय बैंकको डेपुटी गभर्नरको पद सम्हालेका थिए । सोही वर्षको सेप्टेम्बरमा हालका गभर्नर रघुराम राजनले समेत गभर्नरको पद सम्हालेका थिए । स्रोतहरुका अनुसार रघुरामसँग उर्जित पटेलको निकट सम्बन्ध रहेको छ । राजनकै सहयोगका कारण उनले आइएमएफसँग जोडिने मौका पाएका थिए । पटेललाई छनौट गर्नुअघि मोदी सरकारले उनको राजनसँगको निकटता र क्षमता दुवैलाई हेरेको विश्लेषण गरिएको छ । राजनले समेत पटेललाई नै आफ्नो उत्तराधिकारी सिफारिस गरेका थिए । 

कस–कसलाई पछारे पटेलले ?
केन्द्रीय बैंकको २४ औं गभर्नर बन्नका लागि अन्तिम दौडमा ७  नाम चर्चामा थिए । ती नामहरु नर्थ ब्लक र प्रधानमन्त्री कार्यालयमा विशेष चर्चित थिए । यो दौडमा पटेल बाहेक आरबीआईका पूर्व डेपुटी गभर्नर सुबिर गोकर्ण, अर्का पूर्व डेपुटी गभर्नर राकेश मोहन, इकोनोमिक अफेयर्स सेक्रेटरी शक्तिकान्ता दास,  चीफ इकोनोमिक एडभाइजर अरविन्द सुव्रमण्यन, नीति आयोगका उपाध्यक्ष अरविन्द पनगढिया र स्टेट बैंक अफ इण्डियाका अध्यक्ष अरुन्धति भट्टाचार्य समेत सामेल थिए । 

यसैबीच, राजश्व सचिव हसमुख अढियाले पटेललाई गभर्नर नियुक्तिका लागि बधाई दिएका छन् । पटेल यस्ता ८ औं डेपुटी गभर्नर हुन्, जो गभर्नरको रुपमा पदोन्नति भएका छन् । 

नयाँ गभर्नरको नियुक्तिमाथि टिप्पणी गर्दै भारतका आर्थिक विश्लेषकहरुले राजनका सही उत्तराधिकारीको रुपमा पटेलको उदय भएको बताएका छन् । उनीहरुले पटेलको भूमिका कारण आगामी दिनमा भारतको मुद्रास्फिति र आर्थिक वृद्धिदरलाई सन्तुलनमा आउने विश्वास समेत व्यक्त गरेका छन् । 

कतिपय राजनीतिक दलका नेताहरुले समेत शनिवार नै ट्वीट गरी पटेलको नियुक्तिप्रति समर्थन जनाएका छन् ।